विवादले एमालेमा मनोनयन र कार्यविभाजन हुन सकेन

130
  •  
  •  
  •  

काठमाडौं ११ फागुन । प्रमुख नेताहरूको विवादका कारण महाधिवेशन सकिएको ८ महिना भइसक्दा पनि एमालेले केन्दि्रय समितिलाई पूर्णता र नेताहरुलाई नयाँ जिम्मेवारी दिन सकेको छैन । मनोनयन र कार्यविभाजनकै एजेण्डामा छलफलका लागि बोलाइएको स्थायी समितिको बैठकसमेत पर सरेको सर्‍यै छ । विवाद नमिलेकाले आइतबार बोलाइएको स्थायी समिति बैठक पनि नेतारुको कार्यव्यस्तताको कारण देखाउदै मंगलबारसम्मका लागि स्थगित भयो ।

‘ नेताहरु सबै उपस्थित हुने अवस्था रहेन त्यसैले मनोनयनलगायतका एजेण्डामा छलफल भएन’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने’, अब आउदो बैठक -मंगलबारं) यो बिषयमा छलफल हुन्छ, अब धेरै लम्बिदैन ।’ प्रमुख नेताहरुले मनोनयन गर्ने व्यक्ति र कार्यविभाजनका लागि गृहकार्य गरिरहेको उनले जानकारी दिए ।

विधान अनुसार केन्दि्रय र बैकल्पिक गरी १५ जना केन्दि्रय सदस्य मनोनयन गर्न बाँकी छ । १० जना पूर्ण र ५ जना बैकल्पिक केन्दि्रय सदस्यका लागि प्रमुख नेताहरुले आ-आफू निकट व्यक्तिहरु अघि सार्न थालेपछि विवाद चुलिएको छ । स्रोतका अनुसार अध्यक्ष केपी ओली र माधव नेपाल समूहबीच क-कसलाई मनोनयन गर्ने भन्नेमा विवाद छ । एउटा समुहले अघि सारेका व्यक्तिलाई अर्कोले अस्वीकार गर्ने गरेकाले सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

मनोनित हुने आकांक्षीहरुको संख्या झण्डै एक सय भन्दा बढी छ । एउटै समूहभित्र पनि कसलाई मनोयन गर्ने भन्नेमा नेताहरु पिच्छे फरक मत छ । त्यसैले गत आइतबार र सोमबार बसेका दुइटा बैठकले समेत विवाद मिलाउन नसकेपछि अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेलको समूहलाई नाम तय गर्न जिम्मा दिएको थियो । उक्त जिम्मेवारी अनुसार केपी ओलीको निवासमा गत मंगलबार प्रमुख नेताहरुको बैठक बसेको थियो । त्यहाँ दुबै पक्षले आ-आफ्ना नाम अघि सारेका थिए ।

ओली पक्षले घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेेष्ठ, केदार न्यौपाने लगायतका नाम अघि सारेको छ । नेपाल पक्षले देवशंकर पौडेल कल्याणी खडका, कोमल भट्टराई, उषाकला राई , रामकुमार ज्ञवालीलगायतका नाम अघि सारेको छ । उपाध्यक्ष वामदेव गौतमले पनि कृषिमन्त्री हरि पराजुली, राजेन्द्र राईलगायतको नाम अघि सारेका छन् । ओली निवासमा भएको छलफलमा व्यक्तिको नाममा कुरा नमिलेपछि नेता नेपाल मंंगलबार नै पार्टीको काम भन्दै रौतहट हिडेका थिए ।

मनोनयनकै विषय टुंगो लाग्न नसकेपछि नेताहरुको कार्यविभाजनको काम पनि रोकिएको छ । अघिल्लो केन्दि्रय समितिमा रहेका नेताले पुरानै जिम्मेवारी अनुसार काम गरिरहेका छन् । यसपटक नया थपिएका केन्दि्रय सदस्यहरु भने कामविहिन जस्तै छन् । कार्यविभाजनका लागि सचिवालयले गृहकार्य भने थालेको छ । कसरी जिम्मेवारी विभाजन गर्ने भन्नेमा केही सैद्धान्तिक विषयमा सहमति भइसकेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

६० प्रतिशत नेताहरुलाई भूगोल, २० प्रतिशतलाई विभिन्न फाँट र बाँकी २० प्रतिशतलाई पार्टीका आन्तरिक विभागहरुको जिम्मेवारी दिने तय भएको छ । सभासद् नभएका व्यक्तिलाई भूगोलका इन्चार्ज बनाउने तयारी भएको छ । सभासद्लाई जिम्मेवारी दिदा स्थानीय कामका लागि समय छुट्टाउन नसक्ने भएकाले अन्यलाई दिने तयारी भएको हो । त्यस्तै जिम्मेवारीलाई आवधिक बनाउने पनि तयारीसमेत भइरहेको छ । निश्चित समय तोकेर जिम्मेवारी फेरफेर गर्ने योजना छ । एउटै व्यक्ति लामो समयसम्म एउटै जिम्मेवारीमा रहदा गुटबन्दी बढ्ने सक्ने भन्दै यस्तो विकल्प अघि सार्न लागिएको हो ।
कान्तिपुरबाट


  •  
  •  
  •