काठमाडौं ।
एमालेको अनुशासन आयोगले मुलुक अप्ठेरो परिस्थितिमा रहेको ठहर गर्दै यस्तो बेलामा पार्टी भित्रको गुटगत गतिविधि बन्द गरी एकताबद्ध भएर अघि बढ्न नेताहरुलाई निर्देशन दिएको छ ।
मुलुकका समस्यासँग पार्टी जुध्नुपर्ने अवस्थामा आन्तरिक एकता गम्भीर हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आयोगले भनेको छ । पार्टीको आन्तरिक बिषयलाई लिएर एमालेका अध्यक्ष केपी ओली र नेता माधव नेपाल समुहको तिक्तता बढीरहेकाबेला आयोगको बिहीबार र शुक्रबार बसेको बैठकले सबैलाई सचेत गराउने निर्णय लिएको हो ।
‘देश र पार्टी नै अप्ठेरो स्थितिमा रहेको वर्तमान यथार्थलाई गहिरो गरी आत्मसात् गरी पार्टीभित्रको समस्यालाई आन्तरिक छलफलकै प्रक्रियाद्वारा ढुंगो लगाई सिंगो पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने र कुनै पनि खाले गुटगत बैठक वा भेला बन्द गरी पार्टीको संस्थागत प्रक्रियाबाट चल्ने परिपाटीलाई दर्होगरी आत्मसात गर्दै जनता र राष्ट्रको समस्याप्रति गहन रुपमा सोच्न पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गरिन्छ’ आयोग अध्यक्ष अमृतकुमार बोहोराले भनेका छन् ।
पार्टीमा बैचारिक, सैद्धान्तिक र राजनीतिक सवालमा अनेकौ बहस चल्न सक्ने तर त्यसलाई पार्टीका पद्धतिभित्र बसेर गर्न सकिने निकर्ष आयोगको छ । ‘पार्टीलाई पद्धतिसम्मत रुपमा संस्थागत ढंगले अघि बढाए वा कसैलाई पनि काखापाखा नगरी योग्यता, क्षमता र आवश्यकताको आधारमा जिम्मेवारी प्रदान गरे मात्र विवादले अस्वस्थ रुपमा लिनसक्ने छैन’ बोहोराले भनेका छन् ।
मुलुकमाथि विभिन्न खाले हस्तक्षेप बढेको र राष्ट्रियता खतरामा रहेको औल्याउदै बैठकले यस्तो बेलामा पार्टीमा सौहाद्रपूर्ण एकता आवश्यक रहेको उल्लेख गरेको छ । ‘देशको पुननिर्माण, सहज आपूर्ति र राष्ट्रिय संकटे समाधान गर्न नेकपा एमाले अझ एकताबद्ध बन्नु आवश्यक छ’ बैठकको निष्कर्षमा भनिएको छ, ‘यस्तो परिस्थितिमा पार्टीमा विवाद होइन नेता/नेतृत्वबीच सौहाद्रपूर्ण एकताको खाँचो अपरिहार्य भएको छ, पार्टीलाई नीति र विधिसम्मत ढंगले सन्तुलित रुपमा सबैलाई समेट्न सकेमात्र पार्टी सहि रुपमा अघि बढ्न सक्नेछ ।’ कान्तिपुरबाट