एमालेमा भागबन्डा विवादले मनोनयन र कार्यविभाजन हुन सकेन

138
  •  
  •  
  •  

काठमाडौं ७ फागुन ।
प्रमुख नेताहरूबीच भागबन्डा विवादले एमालेको केन्द्रीय समितिमा १५ जना मनोनयन र नेताहरूको कार्यविभाजन प्रक्रिया लम्बिएको छ ।

नेताहरुवीच कुरा नमिलेका कारण बुधबार बस्ने भनिएको स्थायी समितिको बैठक नै माघ १० सम्मका लागि स्थगित गरिएको छ । तर कार्यव्यस्तताका कारण बैठक सारिएको नेताहरुले बताएका छन् । ‘नेताहरुबीचको गृहकार्य पनि पुगेन र अन्य कार्यक्रममा व्यस्त हुने भएकाले बैठक नबसकेको हो’ सचिव योगेश भट्टराईले भने ।

नेताहरूले केन्द्रीय समितिमा मनोनीत हुने १० जना पूर्ण र ५ जना वैकल्पिक केन्द्रिय सदस्यका लागि आ–आफू निकट व्यक्तिहरु अघि सारेकाले विवाद भएको हो । स्रोतका अनुसार अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूहबीच क–कसलाई मनोनयन गर्ने भन्नेमा विवाद छ ।

एउटा समूहले अघि सारेका व्यक्तिलाई अर्कोले अस्वीकार गरेकाले सहमति हुन नसकेको जानकारी नेताहरुले दिए । मनोनित हुने आकांक्षीहरुको संख्या झण्डै एक सय भन्दा बढी छ । एउटै समूहले भित्र कसलाई मनोयन नगर्ने भन्नेमा नेताहरु पिच्छे फरक मत छ । त्यसैले गत आइतबार र सोमबार बसेका दुइटा बैठकले समेत विवाद मिलाउन नसकेपछि सहमति गरी नाम टुंग्याउने जिम्मवारी अध्यक्ष केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेललाई दिइएको थियो ।

उक्त जिम्मेवारी अनुसार केपी ओलीको निवासमा मंगलबार प्रमुख नेताहरुको बैठक बसेको थियो । त्यहाँ दुबै पक्षले आ–आफ्ना नाम अघि सारेका थिए । ओली पक्षले घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, केदार न्यौपानेलगायतका नाम अघि सारेको छ ।

नेपाल पक्षले देवशंकर पौडेल, कल्याणी खडा, कोमल भट्टराई, उषाकला राई , रामकुमार ज्ञवालीलगायतका नाम अघि सारेको छ । उपाध्यक्ष वामदेव गौतमले पनि कृषिमन्त्री हरि पराजुली, राजेन्द्र राईलगायतको नाम अघि सारेका छन् । ओली निवासमा भएको छलफलमा व्यक्तिको नाममा कुरा नमिलेपछि नेता नेपाल मंगलबार नै पार्टीको काम भन्दै रौतहट हिडेका थिए । रौतहटकै कार्यक्रममा व्यस्त भएपछि उनले बुधबारको बैठक नराख्न अध्यक्षलाई भनेका थिए । त्यसपछि १० गते सम्मका लागि बैठक स्थगित भएको हो ।

मनोयनकै बिषय टुंगो लाग्न नसकेपछि नेताहरुको कार्यविभाजनको काम पनि रोकिएको छ । झण्डै आठ महिना अघि महाधिवेशन सकिए पनि नेताहरुको कार्यविभाजन अहिलेसम्म हुन सकेको छैन । कार्यविभाजनका लागि सचिवालयले गृहकार्य भने गरिरहेको छ । कसरी जिम्मेवारी विभाजन गर्ने भन्नेमा केही सैद्धान्तिक सहमति सचिवालयमा भइसकेको जानकारी सचिव भट्टराईले दिए ।

६० प्रतिशत नेतालाई भूगोल, २० प्रतिशतलाई विभिन्न फाँट र बाँकी २० प्रतिशतलाई पार्टीका विभागहरुको जिम्मेवारी दिने तय भएको छ । सभासद् नभएका व्यक्तिलाई भूगोलको इन्जार्ज बनाउने तयारी भएको छ । सभासद्लाई जिम्मेवारी दिदा स्थानीय कामका लागि समय छुट्टाउन नसक्ने भएकाले अन्यलाई दिने तयारी भएको हो । त्यस्तै जिम्मेवारीलाई आवधिक बनाउने पनि तयारी भइरहेको छ । निश्चित समय तोकेर जिम्मेवारी फेरफेर गर्ने योजना छ । एउटै व्यक्ति लामो समयसम्म एउटै जिम्मेवारीमा रहदा गुटबन्दी बढ्ने सक्ने भन्दै यस्तो विकल्प अघि सार्न लागिएको हो ।
कान्तिपुरबाट


  •  
  •  
  •