काठमाडौं, १५ माघ (ओएनएस) : नेकपा एमालेले संविधान निर्माण प्रक्रिया र विपक्षी दलहरुसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।
एमाले मुख्यालय बल्खूमा बिहिबार बसेको स्थायी समितिको बैठकले वार्तामा बस्न अस्वीकार गरिरहेको एमाओवादी तथा मधेशी मोर्चालाई वार्ताबाट विवादको निकास निकाल्न आह्वान गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
‘ एमओवादी, मधेशी मोर्चा लगायत विपक्षीहरुलाई वार्तामा फर्कन आह्वान गर्ने निर्णय गरेका छौ । ’ भट्टराईले ओएनएससँग कुरा गर्दै भने ‘संविधान निर्माण प्रक्रियालाई निरन्तर रुपमा अघि बढाउने पनि निर्णय भएको छ, वार्ता र संविधान निर्माण प्रक्रिया सँगसगै अघि बढाउनु पर्ने एमालेको ठहर छ । ’
माओवादी लगायत विपक्षी मोर्चाले सभाध्यक्ष सुवास नेम्बाङले गत माघ ११ गते प्रश्नावली निर्माण समिति गठन गरेर जबरजस्ती प्रक्रिया अघि बढाएको भन्दै त्यो कदम नसच्चिएसम्म वार्ता नगर्ने बताउँदै आएको छ ।
साथै एमालेले बजारमा देखिएको चरम ग्यासको आपूर्तिलाई सर्वसुलभ पार्न पनि सरकारलाई ध्यानकर्षण गराएको छ । आगामी आइतबार बस्ने अर्काे बैठकले देशका विभिन्न स्थानमा गर्ने भनिएको सभा र कार्यकर्ता भेला बारेमा थप रणनीति बनाईने भट्टराईले बताए ।