काठमाडौं, १३ पुस (ओएनएस) : नेकपा एमालेले संविधानको विवादित विषयमा सहमतिको संभावना कमजोर बन्दै गएकोले प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
प्रक्रियामा गएर छिनोफानो गर्दा मात्र माघ ८ मा संविधान ल्याउन सक्ने एमालेको आइतबार बसेको स्थायी समितिको ठहर छ ।
चार दलीय कार्यदलका सदस्य रहेका उपाध्यक्ष भीम रावलले कार्यदलको छलफलका विषयमा जानकारी गराएपछि एमालेले सहमतिको संभावना टरेको भन्दै प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।
कार्यदलमा एमाओवादी र मधेसी मोर्चाले सहमतिको लागि प्रस्ताव ल्याउनुको साटो बहुमतीयबाट संविधान बनाउन खोजे बहिस्कार गर्ने धम्की दिएको रावलले स्थायी समितिलाई जानकारी दिएका थिए । रावलले सहमति गर्नको लागि एमाओवादी र मधेशी मोर्चाले लचक हुने संभावना नदेखाएको बताएका थिए ।
बैठकपछि ओएनएससँग कुरा गर्दै स्थायी समिति सदस्य शंकर पोखरेलले सहमतिको संभावना कमजोर बन्दै गएको भन्ने रिपोटिङ भएकोले प्रक्रियामा गएर संविधान जारी गर्नु पर्नेमा स्थायी समिति एकमत भएको जानकारी दिए ।
‘तीन दल सहित मधेशी मोर्चाको कार्यदलमा रहनुभएका भीम रावलजीले सहमतिको संभावना कमजोर भएको रिपोटिङ गर्नुभयो । ’ पोखरेलले भने ‘ तोकिएको समयमा संविधान जारी गर्नको लागि प्रक्रियामा जानको लागि सबै सदस्य एकमत हुनुभएको छ । ’ बैठकमा अध्यक्ष केपी ओलीले हालसम्म भएका छलफलहरुको बारेमा जानकारी गराएका थिए । बैठकमा अध्यक्ष ओलीले माघ ८ मा संविधान जारी गर्ने विषयमा कांग्रेस र एमाओवादी अनिच्छुक भएको बताएका थिए । अध्यक्ष ओलीले सत्तामा बसिरहन कांग्रेसले र सत्तामा भाग खोज्न एमाओवादीले टार्न खाजेको टिप्पणी गरेका थिए । कांग्रेससँग सजक र शसंकित रहनुपर्ने बेला आएको ओलीको भनाई उदृत गर्दै एक सदस्यले बताए ।