काठमाडौं १२ पुस ।
एमालेले पार्टीको निर्णय प्रक्रियामा प्रभावशाली भूमिका खेल्ने स्थायी समिति जम्बो बनाएको छ । पार्टी भित्रको गुटबन्दी व्यवस्थापन र समावेशी बनाउन एमालेले शुक्रबार पाँच जना थपेर २२ सदस्यीय बनाएको छ । अझै एक जना थप्न बाँकी रहेको र नेताहरुको परामर्शमा अध्यक्षले नाम प्रस्ताव गर्ने महासचिव ईश्वर पोखरेलले जनाए ।
स्थायी समितिको शुक्रबारको बैठकले थपेका पाँच सदस्यमा सुरेन्द्र पाण्डे, शंकर पोखरेल, किरण गुरुङ छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल छन् । उनीहरुमध्ये गत महाधिवेशनमा पाण्डे महासचिव, पोखरेल उपमहासचिव र गुरुङ उपाध्यक्षमा पराजित भएका थिए । विश्वकर्मा र मण्डल केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २२ सदस्यीय स्थायी समितिमा पनि अध्यक्ष केपी ओलीकै बहुमत भएको छ । ओली पक्षका ११ र नेता माधव नेपाल पक्षका नौ जना स्थायी समितिमा पुगेका छन् । बरिष्ठ नेता झलनाथ खनाल कुनै पक्षमा खुलेका छैनन् । समावेश गर्न बाँकी एक जनामा ओली र नेपालको कुरा मिल्न सकेको छैन । पदाधिकारी र बरिष्ठ नेता बाहेक यसअघि नै नेता माधव नेपाल र मुकुन्द न्यौपानेलाई स्थायी समितिमा ल्याएको थियो ।
माथिल्ला निकायमा समावेशी हुन नसकेको भन्दै आलोचना भएपछि एमाले स्थायी समितिमा सदस्य थपेर समावेशी बनाउन खोजेको हो । समावेशी बनाउनुपर्छ र सबैलाई समेट्नुपर्छ भन्ने भएर केही नेताहरुलाई स्थायी समितिमा ल्याएको हो’ बैठकपछि सचिव गोकर्ण विष्टले भने । त्यसकै लागि जनजाती मधेसी दलित समूदायका नेतालाई स्थायी समितिमा ल्याएको हो । स्थायी समितिमा ल्याएका नेताहरु अध्यक्ष ओली, नेता नेपाल, उपाध्यक्ष बामदेव गौतमले पं्रस्ताव गरेको व्यक्ति हुन् । गत असारमा भएको महाधिवेशनमा ओली र नेपालको गुटबन्दी भएको थियो । गुटबन्दीकै कारण एमालेको स्थायी समितिले पूर्ण पाउन सकेको थिएन । एक साता अघि सकिएको केन्दि्रय समितिले गुटबन्दी व्यवस्थ्ाापन गरेपछि पोलिटब्यूरो र स्थायी समिति चयन भएको हो । नेताहरुको कार्यविभाजन भने आइतबारबाट बस्ने बैठकमा छलफल हुने एमालेले जनाएको छ ।
एमाले सभासद्द्वारा नेम्बाङलाई खुट्टा नकमाउन ध्यानाकर्षण
एमालेका सभासद्हरुले माघ ८ भित्रै सविधान निर्माणका लागि दर्हो ढंगले प्रस्तुत हुन संविधान सभा अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।
संविधान निर्माणका लागि दवाव अभियान थालेका एमाले सभासद्हरुले शुक्रबार अध्यक्ष सुवास नेम्बाङलाई भटेर नियमावलीको प्रक्रिया अघि बढाउन भनेका छन् । उनीहरुले नियमावलीले अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्ने सवालमा पछि नहुट्न नेम्बाङलाई आग्रह गरेका छन् । सभासद्हरु प्रकाश ज्वाला, भानुभक्त ढकाल, गंगालाल तुलाधर, यज्ञराज सुनुवार, गरिमा शाह, कृष्णभक्त पोखरल, कर्ण थापा, राजन भट्टराई लगायगतका झण्डै डेढ दर्जन सभासद्ले शुक्रबा नेम्बाङलाई भेटी लिखितै सुझाव दिएका छन् ।
माघ ८ मा संविधान नबने मुलुक झन् दुर्घटना पर्ने भएकाले जो जसको जे भूमिका छ त्यसलाई बुझेर अघि बढ्न उनीहरुले आग्रह गरेका छन् । भेटमा अध्यक्ष नेम्बाङले आफूले समयमै संविधान जारी गर्नका लागि पहल गर्ने प्रतिक्रिया दिएका थिए ।
कान्तिपुरबाट