एमाले स्थायी समिति र पोलिटब्युरोमा गुटगत भागवण्डा

291
  •  
  •  
  •  

umlकाठमाडौं, २६ मंसिर (ओएनएस) : नेकपा एमालेको स्थायी समिति र पोलिटब्युरो सदस्यको मनोनयन गुटगत भागवण्डाको आधारमा हुने भएको छ । शुक्रबार बसेको पदाधिकारी तथा केन्द्रीय समितिको बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेतालाई स्थायी समिति र पोलिटब्युरो सदस्य चयन गर्ने जिम्मा दिएको थियो ।

 जिम्मा पाएपछि दुबै नेताले आफु पक्षमा रहेका केन्द्रीय समितिको सदस्यको आधारमा स्थायी समिति र पोलिटब्युरो सदस्यको चयन गर्नेछन् । केन्द्रीय सदस्य पशुपती चौलागाईका अनुसार दुई नेताहरुले भोलि १२ बजेसम्म सहमतिमा स्थायी समिति र पोलिटब्युरो सहमतिमै चयन गर्ने प्रयास गर्नेछन् । सहमतिमा चयन गर्ने प्रयास असफल भए निर्वाचन प्रक्रियाबाट टुङ्गो लाग्ने चौलागाईले बताए ।

महाधिवेशन सकिएको पाँच महिना बितिसक्दा पनि पोलिटब्यूरो सदस्यको योग्यता लगायतका बिषयको विवादले स्थायी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन। अहिलेको विधानअनुसार पोलिट्ब्यूरो चयन गर्दा ओली पक्षलाई फाइदा हुन्छ ।

तर एक कार्यकाल पूर्ण सदस्य मात्र भएका व्यक्ति पोलिटब्यूरो सदस्य बन्ने प्रावधान विधान राखे नेपाल समूहका पनि धेरै नेताहरु चयन हुन सक्छन् । केन्द्रिय समितिको समिकरणअनुसार झण्डै ६० प्रतिशत ओली र ४० प्रतिशत नेपाल पक्षका केन्द्रिय सदस्य छन् । केन्द्रिय समितिमा पूर्ण र बैकल्पिक गरी १ सय ६३ सदस्य छन् । पूर्ण र बैकल्पिक गरी कुल ५४ जना पोलिटब्यूरो सदस्य हुन्छन् ।

१४ पदाधिकारी र एक बरिष्ठ नेता स्वतः पोलिटब्यूरो सदस्य हुने भएकाले बाँकी ३९ जनाको चयन गर्नुपर्ने छ । पूर्ण केन्द्रीय सदस्य मात्र योग्य मानिने भएकाले ३७ जनाको मात्र योग्यता पुग्नेछ ।  त्यसमध्ये १९ जना ओली प्यानल र १८ जना नेपाल प्यानलबाट चुनिएका हुन । दुईजना बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल हुनेछन् ।  स्थायी समितिमा १९ जना सम्मको हुन सक्नेछ । त्यसमा पदाधिकारी र बरिष्ठ नेता गरी १५ जना स्वत स्थायी समिति सदस्य हुने प्रावधान छ ।

पार्टी विधानको व्यवस्था अनुसार केन्द्रीय कमिटीका ११७ जना पूर्ण सदस्यहरूले मतदाताका रूपमा मताधिकार प्रयोग गर्न सक्ने र विधानको धारा ३८ (ख) अनुसार स्थायी कमिटीको उम्मेदवार हुन केन्द्रीय कमिटीको पूर्ण सदस्य भई एक कार्यकाल पूरा गरेको हुनु पर्ने तथा पोलिटब्युरो सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । पोलिटब्युरोका लागि २३ जना पूर्ण तथा १५ जना वैकल्पिक सदस्यहरूको चयन हुनेछ ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलको कार्यदलले एक कार्यकाल केन्द्रीय कमिटीमा रहेका व्यक्ति उम्मेदवार हुन पाउने योग्यतासम्बन्धी प्रस्तुत गरेको प्रस्ताव पारित गरेपछि निर्वाचन प्रक्रिया पनि प्रारम्भ भएको छ ।

केन्द्रीय कमिटी बैठक अगाडि पदाधिकारी बैठकले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई सहमति जुटाउने जिम्मेवारी दिएपनि हालसम्म सहमति हुन नसकेपछि निर्वाचनको प्रक्रिया प्रारम्भ भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले जानकारी दिए ।

नवौँ राष्ट्रिय महाधिवेशनले पार्टीको नेतृत्वमा समावेशीकरणसहित १ सय ५९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव पारित गरेको थियो । यसमा वरिष्ठ नेता झलनाथ खनाल तथा केन्द्रीय अनुशासन आयोग र सल्लाहकार परिषद्का अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।


  •  
  •  
  •