एमाले केन्द्रीय कमिटीको बैठक २२ गतेसम्म स्थगित

118
  •  
  •  
  •  

काठमाडौं, १८ कात्तिक (ओएनएस):  मंगलवार बस्ने भनिएको एमाले केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । बैठक कात्तिक २२ गनेसम्मका लागि स्थगित भएको एमालेले जनाएको छ । कात्तिक १४ गते सुरु भएको पहिलो केन्द्रीय समितिको बैठकमा नेता माधन नेपाल आक्रामक रुपमा प्रस्तुत भएपछि संस्थापन अत्तालिएर बैठक स्थगित गरेको स्रोतले जनाएको छ ।

आज बस्ने भनिएको बैठकमा नेपाल पक्षले अहिलेसम्म पार्टीका संस्थागत निर्णय विपरीत भएका काम कारवाहीका बारेमा अध्यक्ष ओलीको जवाफ माग्ने तयारी गरेको थियो । ओलीले केन्द्रीय कमिटीलाई सन्तुष्ट हुने गरी जवाफ नदिए बैठक अघि बढ्न नसक्ने चेतावनी नेपालले दिइसकेका छन् । महाधिवेशनमा देखिएको गुटबन्दी यतिबेला पार्टीमा झन मौलाएको छ । जसका कारण केन्द्रीय कमिटीको बैठक नै स्थगित भएको बताइएको छ ।

अध्यक्ष  ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले बैठक स्थगन गरेको एक नेताले बताए । बैठक मध्यान्न १२ बजेका लागि तय गरिएको थियो । ढिलोगरि बैठक स्थगन हुँदा केही सदस्य पार्टी सदस्य बल्खु पुगिसकेका थिए । सचिव प्रदीप ज्ञवालीले शीर्ष नेताहरु संविधानसभाको छलफलमा लाग्नुपर्ने भएकाले बैठक स्थगन भएको बताए ।

कात्तिक १४ गते बसेको बैठकमा माधवकुमार नेपालले ७ बुँदे असहमति पेश गरेपछि बैठक स्थगित भएको थियो ।


  •  
  •  
  •