एमाले फेरि किचलो, पोलिटब्युरो चयनको मापदण्डमा विवाद

126
  •  
  •  
  •  

काठमाडौं ३ कात्तिक ।
महाधिवेशन सकिएको तीन महिनापछि बल्ल प्रकाशनमा आएको एमालेको विधानमा किचलो सुरु भएको छ । केही दिन अघि सचिवालयले प्रकाशनमा ल्याएको विधान छलफल नगरी प्रकाशन गरेको भन्दै माधवकुमार नेपाल समूहले असन्तुष्टि व्यक्त गरेको छ ।

केपी ओली समूहका नेताहरुले भने सचिवालयमा पर्याप्त छलफल भएर नै विधान प्रकाशनमा ल्याएको बताएका छन् । विधानको धारा ३८ मा रहेको पोलिटब्युरो चयनको मापदण्डको बिषयलाई लिएर विवाद भएको थियो । पोलिट ब्यूरो सदस्य हुनका लागि एक कार्यकाल केन्दि्रय समितिमा बिताएको हुनुपर्ने कि नपर्ने भन्नेमा दुई पक्षका नेताहरुबीच विवाद भएको थियो ।

त्यो विवादको अन्तिम टुंगो पदाधिकारी बैठकले मिलाएर विधान प्रकाशित गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप नेपाल पक्षले लगाएको छ । ‘पोलिट ब्यूरो सदस्य चयनको मापदण्डको बिषय पदाधिकारी बैठकले टुंगाएको विधान छाप्नुपर्ने थियो तर बैठक नगरी विधान प्रकाशनमा आयो यो तरिका ठिक भएन’ नेपाल पक्षकाउपाध्यक्ष युवराज ज्ञवालीले भने ।

ओली पक्षका सचिव प्रदीप ज्ञवालीले भने अध्यक्षले सचिवालयमा परामर्श गरेर सबैको सहमति भएपछि विधान प्रकाशनमा आएको बताए । ‘छलफल नै भएन भन्ने बेकारको कुरा हो,’ सचिव ज्ञवालीले भने,’सचिवालयले पर्याप्त छलफल गरेर टुंग्याएपछि विधान प्रकाशनमा आएको हो ।’ प्रकाशित विधानअनुसार पोलिट ब्यूरो सदस्य हुन एक कार्यकाल केन्दि्रय समितिमा बिताएको हुनुपर्नेछ । यो प्रावधानका अनुसार एक कार्यकाल विताइसकेका पूर्ण वा बैकल्पिक दुबै खालका सदस्यहरु पोलिट ब्यूरो सदस्य बन्न योग्य हुनेछन् । पदाधिकारी र स्थायी समिति सदस्य हुन भने एककार्यकाल पूर्ण केन्दि्रय सदस्य भएको हुनुपर्नेछ ।

महाधिवशेनको हलले पोलिटब्यूरो सदस्य हुन पनि एक कार्यकाल पूर्ण सदस्य भएको हुनुपर्ने प्रधावान पास गरेको तर त्यसविपरित विधान आएको नेपाल पक्षका उपाध्यक्ष ज्ञवालीले दाबी छ । ‘पोलिटब्यूरोमा पनि पूर्ण केन्दि्रय सदस्य हुनुपर्ने भन्ने हो तर त्यस्तो आएन छलफल गरेको भए यो धेरै ठूलो कुरा हुने थिएन’ उपाध्यक्ष ज्ञवालीले भने । ओली पक्षका सचिव ज्ञवालीले भने महाधिवेशनको हलमा जे पारित भएको हो त्यही छापिएको जानकारी दिए । एमालेको केन्दि्रय समिति ओली पक्षको बहुमत छ ।

महाधिवेशनमा बनेको प्यानलका कारण एमालेमा स-सानो बिषयमा पनि विवाद हुँदै आएको छ । विवाद निरुपण गर्नका लागि बोलाइको केन्द्रीय समितिको बैठक पनि पर सर्ने गरेकाले दुबै पक्षको असझदारी बढो । संसदका सभापति चयन, मन्त्रीहरुको फेरबदल, सुकम्बासी आयोग गठन, मन्त्रिपरिषद सभासद् मनोनयन लगायतका बिषयले पनि एमालेमा असझदारी उब्जिएको हो ।
कान्तिपुरबाट


  •  
  •  
  •