एमालेमा यस्तो छ जोड–घटाउ

100
  •  
  •  
  •  

पार्टीको स्थायी समिति तथा पोलिटब्युरोमा आफ्नो समूहको पल्ला भारी बनाउन दुई समूहबीच चलेको होडका कारण नेकपा (एमाले)को विधानले अन्तिम रूप पाउन सकेको छैन । नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा बहुमतप्राप्त अध्यक्ष केपी ओली समूह त्यही बहुमतका आडमा महाधिवेशनबाट पारित विधानलाई आफूअनुकूल हुनेगरी सच्याएर प्रकाशन गर्ने दाउमा छ भने माधव नेपाल समूहले महाधिवेशनको म्यान्डेटविपरीत जान नसकिने जिकिर गर्दै आएको छ ।

दुवै समूहको अडानका कारण महाधिवेशन सम्पन्न भएको तीन महिना बित्दासमेत विधान प्रकाशनमा आउन सकेको छैन । महाधिवेशन हलबाट पारित भई स्टेरिङ कमिटीले समेत सूत्रीकृत गरेको धारा ३८ मा उल्लिखित विषयलाई लिएर दुई समूहबीच उत्पन्न विवाद अझै किनारा लागेको छैन । विधानको धारा ३८ मा स्थायी समिति वा पोलिटब्युरो सदस्य हुनका लागि पार्टीको केन्द्रीय कमिटीमा यसअघि कम्तीमा एक कार्यकाल पूर्ण सदस्य हुनुपर्ने प्रावधान उल्लेख छ । यो प्रावधानअनुरूप पोलिटब्युरोको संरचना निर्माण गर्दा ओली समूह अल्पमतमा पर्ने भएकाले सो समूहले उक्त धारा सच्याउनुपर्ने बताउँदै आएको छ भने यसो गर्दा आफू बहुमतमा रहने भएकाले पनि नेपाल समूहले महाधिवेशनको म्यान्डेट अनुरूप चल्नुपर्ने अडान लिँदै आएको छ । महाधिवेशनले पोलिटब्युरोको आकार केन्द्रीय कमिटीको एक तिहाइ हुने व्यवस्था गरेको छ । यसो हुँदा पोलिटब्युरो सदस्यको संख्या ५४ हुन्छ । त्यसमा १५ जना पदाधिकारी घटाउँदा ३९ सदस्य चयन हुन्छन् ।

पदाधिकारीबाहेक अघिल्लो पटक केन्द्रीय कमिटीमा रहेका र यस पटक पनि जितेका सदस्यको संख्या ३९ नै छ । जसमा ओली समूहका १९ र नेपाल समूहका २० जना छन् । आफू अल्पमतमा पर्ने भएपछि पोलिटब्युरोमा आफ्नो वर्चस्व कायम गरी छाड्न ओली समूहले भित्रभित्रै नयाँ रणनीति अपनाएको स्रोतले बतायो  । स्रोतका अनुसार, यो समूहले ५४ सदस्यीय पोलिटब्युरोको  एक तिहाइ वैकल्पिकका लागि छुट्याउने रणनीति बनाएको छ । ५४ को एक तिहाइ अर्थात १८ जना वैकल्पिकलाई ३९ बाट घटाउँदा २१ जना बाँकी रहन्छन् । ती २१ जनामा आफ्नो समूहमा रहेका १९ जनालाई नै उम्मेदवारी दिन लगाउने ओली समूहको योजना छ । यसो गर्दा, आफ्नो समूहको केन्द्रीय कमिटीमा आरामदायी बहुमत भएकाले १९ जनाले नै जित्ने र बाँकी २ जना नेपाल समूहले पाउने जोड–घटाउ सो समूहले गरेको स्रोतले बतायो । ओली समूहको यो रणनीति पूरा हुँदा यस प्रक्रियामा वैकल्पिक पोलिटब्युरोका भने उम्मेदवारी खाली हुनेछ ।

विगतमा एक कार्यकाल पूर्ण सदस्य भएका र अहिले पनि केन्द्रीय कमिटीमा आएका ओली समूहका १९ जनामा शंकर पोखरेल, प्रदीप नेपाल, छविलाल विश्वकर्मा, अग्नि खरेल, किरण गुरुङ, काशीनाथ अधिकारी, महेन्द्र पाण्डे, बिन्दा पाण्डे, मुकुन्द न्यौपाने, विष्णु रिमाल, भानुभक्त ढकाल, कर्णबहादुर थापा, राधा ज्ञवाली, थममाया थापा, दलबहादुर राना, सानु श्रेष्ठ, सत्यनारायण मण्डल, यमलाल कँडेल र गोरखबहादुर बोगटी छन् । नेपाल समूहका २० जनामा नेपालसहित सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, लालबाबु पण्डित, प्रकाश ज्वाला, अरुण नेपाल, डा. विजय पौडेल, परशुुमेघी गुरुङ, तुलबहादुर गुरुङ, गंगालाल तुलाधर, डा. वंशीधर मिश्र, नागेन्द्र चौधरी, युवराज कार्की, श्रीमाया थकाली, गौरा प्रसार्इं, रामप्रित पासवान, जगन्नाथ खतिवडा र पशुपति चौलागाईं छन् । आफ्नो समूहको वर्चस्व हुने गरी यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्कै प्रस्ताव गरेको थाहा भएको छ । स्रोतका अनुसार उक्त बैठकमा ओलीले ‘स्थायीमा आउन एक कार्यकाल पूर्ण सदस्य अनिवार्य हुनुपर्ने र पोलिटब्युरोमा भने एक कार्यकाल कम्तीमा वैकल्पिक भएको हुनुपर्ने गरौं न त’ भन्ने प्रस्ताव गरेका थिए ।

यसो गर्दा स्थायीमा पदाधिकारीबाहेक बाँकी रहने सदस्यमा सबै ओली समूहकै निर्वाचित हुन्छन् भने पोलिटब्युरोमा पनि ओली समूहकै वर्चस्व हुन्छ । यसो गर्दा पदाधिकारी घटाएर बाँकी ३९ सदस्यीय पोलिटब्युरोमा सो समूहबाट एक कार्यकाल पूर्ण सदस्य भएका १९ जना छन् भने एक कार्यकाल वैकल्पिक भएका १२ जना गरी ३१ जना पोलिटब्युरोमा आउँछन् । नेपाल समूहका जम्मा ८ जना पर्छन् । अहिले केन्द्रीय कमिटीमा आएका र यसअघि एक कार्यकाल वैकल्पिक सदस्य रहेका २३ जनामध्ये १२ जना ओली र ११ जना नेपाल समूहका छन् । ओली समूहकामा शेरधन राई, गोकुल घर्ती, ज्ञानबहादुर भुजेल, कमलादेवी महतो, श्रीप्रसाद साह, जगत विश्वकर्मा, गणेश तिमिल्सिना, नजिर मियाँ, रामनाथ ढकाल, महिम लिम्बू, भागवत विश्वासी नेपाली र योगनारायण यादव छन् भने नेपाल समूहबाट ठाकुर गैरे, राजेन्द्र राई, गरिमा शाह, ममता गिरी, सुशीला नेपाल, शेरबहादुर तामाङ, शत्रुघन महतो, चूडामणि जंगली, जीवनराम श्रेष्ठ, जयन्ती राई र वैजनाथ चौधरी छन्  ।

ओलीको यो प्रस्तावको नेपाल समूहका पदाधिकारीले ठाडै अस्वीकार गरेका थिए । सचिव योगेश भट्टराईले भने– ‘हामीले यदि लिखतमा एकरूपता नभएको भए महाधिवेशनको अडियो–भिडिओ हेरांै र त्यस अनुरूप नै गरांै भन्यौं, उहाँहरूले कहाँ खोज्न जाने भन्न थाल्नुभयो । उहाँहरूले जबर्जस्ती आफूअनुकूल विधान छाप्ने कुरा गर्न थाल्नुभयो । हामीले कि सहमतिमा छाप्नुस् कि महाधिवेशनको अडियो भिजुअल हेरौं र त्यसअनुरूप नै गरांै भन्यौं, त्यसमै अड्किरहेको छ ।’

इबुधवारबाट 


  •  
  •  
  •