‘संघीयताबारे एमालेको धारणा बाझियो’

413
  •  
  •  
  •  

काठमाडौं २४ असोज ।
नेकपा एमालेका सभासदहरूले राज्य पुनःसंरचना र शासकीय स्वरूपमा पार्टीले अडान छाड्न खोजेको भन्दै आपत्ति जनाएका छन्। संविधानसभा भवन बानेश्वरमा बिहीबार भएको संसदीय दल बैठकमा उनीहरूले संघीयता र शासकीय स्वरूपबारे पार्टीको औपचारिक धारणा शीर्ष नेताहरूबाटै फरक–फरक धारणा आएको भन्दै स्पष्ट गर्न माग गरेका थिए।

सभासद राजेन्द्रप्रसाद पाण्डेले लामो समयको छलफलपछि एमाले बहुपहिचानसहितको सात प्रदेश निर्माणमा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीको तीनदेखि पाँच प्रदेशको अभिव्यक्ति कुन आधारमा आएको हो भन्दै बैठकमा प्रश्न गरेका थिए।

‘संविधानसभा निर्वाचनअघि सात प्रदेश भन्दै भोट माग्यौं। दोस्रो दल पनि बन्यौं। फेरिएको शक्ति सन्तुलनका कारण एमालेको धारणा पनि परिवर्तन भएको हो?’ संसदीय दलमा भनेको कुरा उद्धृत गर्दै पाण्डेले नागरिकसँग भने, ‘महाधिवेशन पनि भर्खरै सकिएको छ। त्यसमा धारणा परिवर्तन गर्न सकिन्थ्यो। होइन भने केन्द्रीय कमिटीको आकस्मिक बैठक वा राष्ट्रिय प्रतिनिधि परिषद वा महाधिवेशनबाट पारित गर्ने गरी धारणा परिवर्तन गर्न सकिन्छ। सात प्रदेश आधिकारिक धारणा हुँदाहुँदै अध्यक्षबाटै तीन देखि पाँच प्रदेशको कुरा किन आयो?’

एमालेले बहुपहिचान र साझा नाम गरी सात प्रदेशको धारणा अघि सारेको थियो जसमा लिम्बुवान–खम्बुवान–कोसी, सेती–महाकाली, थारुहट–अवध–लुम्बिनी, भोजपुरा–मिथिला–जनकपुर, तमुवान–मगरात–गण्डकी, भेरी–कर्णाली छन्।

बैठकमा सभासद काशीनाथ अधिकारीले घोषणापत्रमा रहेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडान छाड्न खोजेको भन्दै आपत्ति जनाएका थिए। ‘एमालेको औपचारिक धारणा प्रत्यक्ष निर्वाचन कार्यकारी प्रधानमन्त्री हो। त्यसमा कुनै पनि परिवर्तन भएको छैन,’ अधिकारीले नागरिकसँग भने, ‘संविधानसभाका निर्वाचनमा पनि हामीले त्यसैका आधारमा मत प्राप्त गरेका हौं। किन संसदीय व्यवस्था जान खोजिएको हो?’ एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित सेरेमोनियल राष्ट्रपतिको धारणा अघि सारेको छ।

बैठकमा नेताहरूले आफूले भनेको जस्तो नहुने र संविधानका विषयमा लेनदेन हुने भन्ने जवाफ दिएका थिए। राजनीतिक दलहरूसँग जारी रहेको वार्ताबारे जानकारी दिन उक्त बैठक बोलाइएको थियो। बैठकको सुरुआतमै उपाध्यक्ष भीम रावलले दलहरूबीच जारी वार्ता, एमालेको अडान र भएको प्रगतिबारे जानकारी गराएका थिए भने उपप्रधानमन्त्री वामदेव गौतमले सरकारको गतिविधिबारे जानकारी गराएका थिए।

बैठकमा अध्यक्ष ओलीले सभासदका लागि तयार राष्ट्रिय झन्डाको लोगो पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लगाइदिएका थिए। अध्यक्ष ओलीले राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबुत गर्ने अभियानअन्तर्गत चन्द्र–सूर्य अंकित लोगो वितरण गरिएको बताए। ‘राष्ट्रिय एकता र अखण्डतालाई प्रवर्द्धन गर्न लोगो व्यवस्था गरिएको हो,’ एमाले सभासद मदनकुमारी (गरिमा) शाहले नागरिकसँग भनिन्, ‘सबै सभासदलाई लोगो लगाउन अनिवार्य गरिएको छ।’

नागरिकबाट


  •  
  •  
  •