काठमाडौं १९ भदौ
महाधिवेशन भएको दुई महिना नबित्दै सत्ताधारी एमालेमा आन्तरिक विवाद चुलिन थालेको छ । महाधिवेशनमा आमने–सामने भएका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच देखिएका विवादका विषयको बल्खुमा चाङ लाग्दै गएको छ । पछिल्लो पटक अध्यक्ष ओलीले पार्टीको कोटामा सभासद मनोनित भएका ८ जनाको नाम सिफारिस गर्दा एकलौटी गरेको भन्दै नेपाल पक्ष आक्रामक रुपमा प्रस्तुत भएको छ । सोमबार बसेको पदाधिकारी बैठकमा नेता नेपालले ‘पेलेर जान खोजेको भए आफू भिड्न तयार रहेको ’ भन्दै ओलीलाई चुनौती दिएका छन् भने उनी पक्षकै सचिव योगेश भट्टराईले सार्वजनिक रुपमै ओलीको खोइरो खनिरहेका छन् । ओलीको कार्यशैली पार्टी चलाउनेभन्दा एकलोटी रुपमा पेलेर जाने र गुट बलियो बनाउने देखिएको आरोप नेता नेपालको छ । कार्यबाहक अध्यक्ष बामदेब गौतमको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले स्वास्थ्योपचारका लागि दिल्ली गएका अध्यक्ष ओली फर्केपछि सभासद् मनोनयनबारे छलफल गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टीको कोटामा पर्ने आठजनाको नाम सभासद्मा सिफारिस गरेर ओली दिल्ली गएका थिए । नयाँप्त्रिकाबाट