एमाले स्थायी कमिटीमा नेपाल स्वतः

168
  •  
  •  
  •  

काठमाडौं २७ साउन (ओएनएस) :
एमालेमा स्थायी कमिटीमा बढुवा हुन अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहमा तानातान तीब्र भएको छ ।

स्थायी कमिटीमा नेता नेपाललाई लैजान अध्यक्ष ओली सहमत छन् । १८ सदस्यीय केन्द्रीय कमिटीमा बाँकी दुई जनाको विषयमा भने मतभेद हुने सम्भावना छ ।

नेपाल समूहले स्थायी कमिटीमा लैजान नेपाल र सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरेको छ । तर ओलीले उपमहासचिवमा पराजित शंकर पोखरेल र नेता छविलाल विश्वकर्मालाई प्रस्ताव गर्ने तयारी गरेका छन् ।

ओलीले विश्वकर्माको नाममा सहमति नभए स्थायी कमिटीमा एकजना मधेसीका प्रस्ताव गर्ने उनी निकट स्रोतको दाबी छ । मधेसीलाई स्थायी कमिटीमा लैजाने प्रस्ताव गरे नेपाल समूहले लालबाबु पण्डितलाई अघि सार्ने तयारी गरेको छ । स्थायी र पोलिट्ब्यूरोमा उम्मेदवार हुन एक कार्यकाल केन्द्रीय कमिटीमा काम गरेको हुनुपर्ने प्रावधान छ । त्यसो हुँदा पण्डितकोमात्र योग्यता पुग्दछ ।

गुटबन्दी नगर्ने र कसैलाई भेदभाव नगर्ने अध्यक्ष ओलीको भनाइलाई नेपाल समूहले ‘परीक्षा’कोरुपमा आगामी कार्यविभाजनलाई लिएको छ । ‘अध्यक्ष कमरेड अब परीक्षामा हुनुहुन्छ,’ नेपाल समूहका नेता पशुपति चौलागाईंले भने, ‘दुवै विचार समूहका अनुभवी नेतालाई उहाँले कसरी व्यवस्थापन गर्नुहुन्छ ।’

ओलीलाई परीक्षा सुरु भएको नेपाल समूहको धारणामा नेता शंकर पोखरेल असन्तुष्ट छन् । उनले काम नै नदिई परीक्षा सुरु भयो भन्नु तर्कसंगत नभएको फेसबुकमा लेखेका छन् ।

पदाधिकारीमा दुवै समूहका ७-७ जना छन् । महत्त्वपूर्ण निर्णय क्षमता राख्ने स्थायी कमिटीमा अल्पमतमा नपर्न ओलीले आफ्नो समूहका दुई नेतालाई राख्न प्रस्ताव गरेलगत्तै नवनिर्वाचित केन्द्रीय नेतृत्व दुई समूहमा तीब्र बाँडिने सम्भावना छ ।

एमालेले दोस्रो बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरोको टुंगो लाग्नेछ ।

यस्तै महाधिवेशनको समीक्षा, महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन, केन्द्रीय कमिटीको बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता निर्माण, केन्द्रीय कमिटीका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादाक्रम निर्धारण, कार्य विभाजन, कार्ययोजना, राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा, सरकार, संविधानसभा तथा व्यवस्थापिका-संसद्को कामलगायत कार्यसूची तय गरिएको छ ।

महाधिवेशनबाट पारित विधान संशोधन र दस्तावेजलाई अन्तिम रूप दिन गठित कार्यदलले प्रतिवेदन पेस गर्ने कार्यसूचि पनि छ ।

राजनीतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष ओली छन् भने सङ्गठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

कान्तिपुरबाट


  •  
  •  
  •