केपी ओलीको विजयले राजनीतिमा पार्न सक्ने प्रभाव

93
  •  
  •  
  •  

काठमाडौं ३२ असार (ओएनएस) :
प्रतिस्पर्धी माधव नेपाल र निवर्तमान अध्यक्ष झलनाथ खनालकै उचाइको राजनीतिक पृष्ठभूमि भए पनि हालसम्म पार्टी र सत्ताको कुर्सीमा बस्न नपाएका केपी ओली एमाले अध्यक्ष चुनिएपछि राष्ट्रिय राजनीतिमा अनपेक्षित मोड आउन सक्ने विश्लेषकहरूको आँकलन छ । पदाधिकारीको शक्ति सन्तुलनको दोहोरो दबाबले ओलीलाई एकलौटी निर्णय गर्न भने गाह्रो हुने उनीहरूको बुझाइ छ ।

राजनीतिशास्त्री कृष्ण खनालका अनुसार ओली अहिलेसम्म ‘फस्ट पर्सन’ का रूपमा नदेखिएका नेता भएकाले उनको नेतृत्वप्रति सबैले उत्सुक भएर हेरेका छन् । ‘राष्ट्रिय राजनीतिक कोर्सलाई प्रत्यक्ष प्रभावित पार्न सक्ने क्षमता भएका नेता हुन् ओली,’ उनले कान्तिपुरसँग भने, ‘कांग्रेस नेतृत्वको सरकारमा बराबरी शक्तिको हैसियतमा रहेको मौका छोपेर उनी ‘सक्सेसर’ का रूपमा उदाए भने अनौठो हुनेछैन ।’ संविधानसभा चुनाव जितेर संसदीय दलमा समेत नेता चुनिएका ओलीमा मुलुकको प्रमुख कार्यकारी बन्ने महत्त्वाकांक्षा देखिन सक्ने खनालले बताए । ‘हुन त ओली कांग्रेस र एमालेको गठबन्धनका एक सूत्रधार भएकाले यही गठबन्धनलाई अझै बलियो बनाउन पनि सक्छन्,’ उनले भने, ‘तर उनको स्वास्थ्यजस्ता कारणले सत्तामा जान हतारिने मनोविज्ञानले काम गर्न पनि सक्छ ।’

वाम विश्लेषक झलक सुवेदीका अनुसार संविधान निर्माणमा कांग्रेस र एमाले सहमति नजिक आउनसक्ने सम्भावना ओलीको विजयसँगै अझै बलियो बनेको छ । संविधान बनाउन सुविधाजनक बहुमत भएका बेला यही सरकार टिक्न सक्नेतर्फ उनले संकेत गरे । ‘संविधान नबन्ने लक्षण देखा परे भनेचाहिँ यो समीकरण तुरुन्तै बदलिन सक्छ,’ सुवेदीले भने, ‘आन्तरिक समिकरणमा खासै फरक नपर्ने उनको आँकलन छ । अर्का राजनीतिशास्त्री प्राध्यापक लोकराज बराल भने आन्तरिक शक्ति सन्तुलनमा फेरबदल भाए पनि राष्ट्रिय राजनीतिमा असर नपर्ने ठान्छन् । ‘ओलीकै इच्छा र आवश्यकताअनुसार उपप्रधानमन्त्री वामदेव गौतम तथा कतिपय मन्त्री सरकारमा गएका हुन्,’ उनले भने, ‘त्यसैले ओलीको चासो सरकारतिर नरहन पनि सक्छ ।’

विश्लेषक हरि रोकाका अनुसार ओली राजनीति बुझ्ने नेता भए पनि मौलाउँदै गएको दक्षिणपन्थको बाटोलाई ओली- वामदेवसहितको विजयले मलजल पुर्‍याउने ‘त्रास’ छ । ‘आर्थिक- सामाजिक रूपान्तरणको विषयमा सहभागितामूलक संविधान निर्माण गर्ने विषयमा उहाँको दृष्टिकोण कट्टर छ,’ उनले भने, ‘लचकता र सहमतिको राजनीतिक ठाउँमा द्वन्द्व मिसिने शंका

छ । सत्तारूढ दल, दोस्रो ठूलो दलको अध्यक्ष । लचकता आउने गुन्जायस छैन ।’

राजनीति विश्लेषक डा. महेन्द्र लावती ओलीको राजनीतिक प्रभावकारिता उनको स्वास्थ्यमा भरपर्ने ठान्छन् । हस्तक्षेपकारी भूमिका खेल्ने नेता ओलीले एमालेलाई पहिलेदेखि फरक लाइनमा लैजान भूमिका खेलिरहेको उनको ठम्याइ छ । ‘पार्टीभित्र र बाहिर केही असर पर्छ तर बराबरी सिट आएकाले एक्लै चलाएझैं सजिलो भने हुँदैन,’ उनले भने, ‘शक्ति सन्तुलनको दबाब भएका कारण पार्टीलाई भने अन्ततः राम्रै हुन्छ ।’

माधवभन्दा कट्टर

विश्लेषक सुवेदीका अनुसार स्वभावगत कट्टरताका कारण परिवर्तनका एजेन्डामा ओली थप अनुदार बन्न सक्छन् । प्रतिस्पर्धी माधवकुमार नेपालभन्दा कम समन्वयकारी र कट्टर स्वभावका कारण समावेशी संविधान, संघीयताजस्ता मुद्दामा ओलीले एमालेलाई दक्षिणपन्थी कित्तामा ढल्काउन सक्ने उनको अनुमान छ । ‘राज्य पुनःसंरचनाका मुद्दा उनको उदयसँगै थप कमजोर भएर जान सक्छन्,’ सुवेदीले भने ।

प्राध्यापक बराल भने ओलीलाई एमालेकै अरू नेताको तुलनामा दक्षिणपन्थी भनिनु पूर्वाग्रहमात्रै भएको तर्क गर्छन् । ‘सत्ता र शक्तिमा पुग्न यहाँ कसैलाई उत्तरपन्थी र दक्षिणपन्थी भन्ने चलन छ,’ उनले भने, ‘राज्य पुनःसंरचनाका मुद्दामा ओली शक्तिबाहिर बस्दा कडा देखिएकै हुन् । सायद नेतृत्वमा आइसकेपछि अब लचिलो हुन

सक्छन् ।’ राष्ट्रिय राजनीतिक अवस्थाले गर्दा कुनै पनि दललाई कट्टरपन्थी भएर बस्न सम्भव नभएकाले ओली पनि यसबाट अछुतो हुन नसक्ने उनको भनाइ छ । लावतीको भनाइमा राज्य पुनःसंरचना, संघीयता, समावेशीकरणजस्ता मुद्दामा ओलीको दृष्टिकोण अलि कडा भएकाले त्यसको बेफाइदा एमालेलाई हुन सक्छ । ‘एमाले मधेसी समुदाय, आदिवासी जनजातिसँग मुद्दाका कारण टाढा बन्दैछ,’ उनले भने, ‘ओलीको कट्टर धारणाले तिनका मुद्दालाई समेट्न त्यति सजिलोचाहिँ हुँदैन, उनले आफूलाई बदल्नुपर्छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •