काठमाडौं, २४ असार (ओएनएस) । राजधानीमा जारी एमाले महाधिवेशनमा सहयोग गर्न खटिएका पार्टीका स्वयम्सेवक नै समूहगत पक्ष विपक्षमा लागेपछि उनीहरुलाई बुधबारदेखि बिदा दिइने भएको छ । बन्दसत्रका अन्य गतिविधि सकिएर निर्वाचनको तयारी भइरहेकाले पनि पार्टीका स्वयम्सेवकलाई हटाउने निर्णय अध्यक्ष मण्डलले गरेको हो । निर्वाचनका समयमा बन्दसत्रको सुरक्षा राज्यका सुरक्षा निकायले गर्ने एमालेको पूर्ववत् तयारी थियो ।
पार्टीको सहयोगी काममा खटिएका स्वयम्सेवक पक्ष र विपक्षमा प्रचारबाजी गर्नसमेत जुटेको देखिएकाले उनीहरुलाई अबभित्र प्रवेशमा निषेध गरिने भएको हो ।
एमालेले महाधिवेशनमा २३० स्वयम्सेवक खटाएको छ । कतिपय स्वयम्सेवक आफ्नो अनुकूलतामा पार्टीले दिएको पोशाक प्रयोग नगरी समूहको प्रचारमा हिँड्ने गरेका देखिन्छन् भने कतिपय स्वयम्सेवक आफ्नो समूहका पक्षमा सञ्चारकर्मी र प्रतिनिधिलाई प्रभावित गर्न पनि तम्सिएका छन् । अध्यक्ष मण्डलले जारी गरेको आचारसंहितामा बन्दसत्र स्थलमा कुनै पक्षको प्रचार सामग्री वितरण गर्न र प्रचार गर्न नपाइने उल्लेख छ ।