टोली नेता छान्न निर्वाचन

141
  •  
  •  
  •  

काठमाडौं, २२ असार (ओएनएस)  राजधानीमा जारी एमालेको नवौं महाधिवेशनको बन्दसत्रमा समुहगत छलफलका लागि टोली नेता र उप नेता छान्न निर्वाचन भएको छ । सहमतिमै टोली नेता छान्ने प्रयास भए पनि एक पक्षले अर्को पक्षलाई नस्वीकारेपछि निर्वाचन भएको एमाले नेता पशुपति चौलागाँईले जानकारी दिए ।
राजधानीको भृकुटीमण्डपमा जारी बन्दसत्रमा राजनीतिक, सांगठनिकसहितका दस्तावेजमाथि छलफलका लागि भुगोलका १४ सहित १९ अंचलसमुह बनाइएको छ । अधिकांश समुहका नेता र उपनेता को बन्ने भन्नेमा अध्यक्षका प्रत्यासीद्वय माधव नेपाल र केपी ओलीबीच सहमति नभएपछि निर्वाचन भएको हो ।
निर्वाचनमा मेचीबाट देवेन्द्र दाहाल, नारायणीबाट रामकुमार भट्टराई, बागमतीबाट लालकुमार केसी, पेशागतमा खगेन्द्र राई, केन्द्रीय विभाग सुर्य थापा, जनकपुरबाट लक्ष्मण पौडेल विजय भएका छन् ।

यसैगरी सल्लाहकारबाट गोपाल शाक्य, कोसीबाट जीवन घिमिरे, जनसंगठनबाट महेश बस्नेत, उपत्यकाबाट टंक कार्की गण्डगीबाट मायानाथ अधिकारी, लुम्बिनीबाट खिमलाल भट्टराई, राप्तीबाट कुमार दसौंदी टोली नेता चयन भएका छन् । महासंघबाट खगेन्द्र राई धौलागिरीबाट मोना केसी चयन भएका छन् ।

१९ समूहले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन, सचिव युवराज ज्ञवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेस गरेका प्रतिवेदनमाथि छलफल भएको छ ।

समूह विभाजन अंचल र अन्य प्रतिनिधि समूहलाई मिलाएर गरिएको छ । महाधिवेशनमा मनोनीत प्रतिनिधिबारे पनि स्थायी कमिटीले निर्णय नगर्ने भएको छ । पार्टीका सचिव शंकर पोखरेलले अब प्रतिनिधि मनोनयन नहुने बताए । मनोनीत प्रतिनिधि भई केन्द्रीय कमिटीमा उम्मेदवारी दिने आशामा रहेका कार्यकर्ता भने अन्योलमा परेका छन् ।
देशभरका २ हजार २ सय प्रतिनिधिलाई १७ वटा समूहमा विभाजन गरिएको छ । यी समुहको टोली नेता र उपनेता चयनमा पनि नेताहरुबीस सहमति बन्न नसेपछि मतदान भएको हो ।
यसैबीच एमालेले ५ वर्षकोे अवधिमा झण्डै ५ करोड आम्दानी गरेको जनाएको छ । लेखा समितिले पेश गरेको प्रतिवेदनमा आठौं महाधिवेशनपछि हालसम्म २२ करोड ३२ लाख आम्दानी भएकोमा १७ करोड एक लाख खर्च भएको देखाइएको छ ।

त्यसको स्रोतको रुपमा भने कार्यकर्ताबाट उठाउने लेवि नै मुख्य रहेको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । यसैगरी अनुशासन आयोगले पेश गरेको प्रतिवेदनमा पार्टी, पार्टी जस्तो नभएको र नेताहरुको घर पार्टी कार्यालय जस्तो भएको उल्लेख गरिएको छ ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पेश गरेको प्रतिवेदनमा पार्टीमा गुटबन्दी चर्किदैँ जाँदा एक गुटले अर्को गुटलाई असहयोग गर्ने, विधि र पद्धती नभएको अराजक समूह जस्तो देखिएको उल्लोख गरिएको छ ।
ई–भोटिङ  नहुुने
व्यवस्थापनको सम्पुर्ण काम डिजिटलाइज्ड गरेको एमालेको नवौं महाविधेशनमा मतदान भने मतपत्रद्वारा हुने भएको छ ।

ई–भोटिङ  प्रयोग गर्न सबै तयारी पुरा भइसकेपनि अन्तिम अवस्थामा आएर ई–भोटिङ रद्द गरिएको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।
इन्जिनीयरहरुले इलेन्ट्रोनिक भोटिङ मेशिनको सकारात्मक र नकारात्मक विषयको जानकारी शीर्ष नेतालाई जानकारी गराएपछि भोटिङ मेशिन प्रयोग नगर्ने निर्णय भएको पन्तले जानकारी दिए ।

भोटिङ मेशिन प्रयोग नगर्ने भएपछि अहिले मतपत्र छपाई गर्ने तयारी भइरहेको छ ।
महाधिवेशन उद्घाटन रोवटमार्फत गर्ने भनिए पनि ‘प्राविधिक’ कारण भन्दै अध्यक्ष झलनाथ खनालले गरेका थिए ।

उद्घाटनसत्रमा रोवटमार्फत पुप्पवृष्टि गराइएको थियो ।
महाधिवेशनमा नेपाली वैज्ञानिकद्वय रामलक्ष्मणले निर्माण गरेको भोटिङ महाधिवेशनमा प्रयोग गर्ने तयारी भएको थियो ।


  •  
  •  
  •