एमालेमा पनि सम्पत्ति विवरणको बहस

187
  •  
  •  
  •  

काठमाडौं, २२ असार (ओएनएस) । एमालेमा नेता–कार्यकताको सम्पत्ति सार्वजनि गर्नुपर्ने बहस हुने भएको छ । राजधानीमा जारी नवौं महाधिवेशनमा महासचिब ईश्वर पोखरेलको प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा नेता–कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

प्रतिवेदनमा राजनीतिक कार्यभार पूरा भइसकेकाले अब पार्टी र पार्टी कार्यकर्ताको ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुने, पार्टी जीवनको लोकतान्त्रिकीकरणलाई उन्नत बनाउने र नेतृत्व हस्तान्तरण गरेर भूमिकाविहीन पंक्तिलाई जिम्मेवारीमा बसेर काम गर्ने (परिक्षित हुने) अवसरबाट वञ्चित गराउन नहुने उल्लेख छ ।

प्रतिवेदनमा जनसंगठन र पार्टी संगठनको दोहोरो जिम्मेवारीमा नबस्ने, कतिपय पहिचान नखुलेका (समूहगत अर्थ लाग्ने) केन्द्र तथा फाउन्डेसनलाई निस्क्रिय बनाउने प्रस्ताव पनि गरिएको छ । संगठित र साधारण सदस्यताको प्रणाली हटाएर पार्टी सदस्य मात्रै बनाउने उल्लेख छ ।

यस्तै प्रतिवेदनमा समहतिमा नेतृत्व चयन नभए व्यक्तिगतरुपमा निर्वाचनमा जानुपर्ने उल्लेख छ । ‘सकभर सहमति, नभए व्यक्तिगत प्रतिस्पर्धा गर्नुपर्छ’ प्रतिवेदनमा भनिएको छ । यो वाक्यांशले प्यानल बनाएर निर्वाचनमा जाने तयारीमा प्रधाव पर्ने देखिएको छ । प्रतिस्पर्धाले जित्नेले सबै लिने र हार्नेले बाहिरिने दुई पार्टीबीचको प्रतिस्पर्धा नगर्न आग्रह गर्दै यसका लागि सकभर सहमति, नभए व्यक्तिगत प्रतिस्पर्धा तथा प्रतिस्पर्धापछि परिणामलाई स्विकार्ने र पराजित पक्षलाई समेट्ने ठोस कार्यविधि आवश्यक रहेको प्रतिवेदनमा जोड दिइएको छ ।

प्रतिवेदनको ‘पार्टी जीवनको लोकतान्त्रिकीकरण’ शीर्षकमा भनिएको छ, “बुर्जुवाहरूको तुलनामा हाम्रो आन्तरिक प्रतिस्पर्धा दुई कुराले भिन्न छ– एक, यसले प्रतिस्पर्धापछि निषेध होइन अझ उन्नत एकताको माग गर्छ, दुई, यो हाम्रो क्रान्तिकारी लक्ष्यसँग आबद्ध भएर सञ्चालित हुन्छ ।”


  •  
  •  
  •