अन्तिम पटक अध्यक्ष बन्ने मन छ : नेपाल, मेरो स्वास्थ्यसँग कुरा नजोड्नुस् : ओली

150
  •  
  •  
  •  

काठमाडौं, २२ जेठ (ओएनएस) : नवौ महाधिवेशनको तयारीकोे क्रममा अहिले एमालेभित्र नेतृत्वको लागि रस्साकस्सी चलेको छ । बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीलाई नेतृत्वमा अघि सारेर दुईवटा गुट सक्रिय भएका छन् । ‘दुईवटा गुटका नेता’ नेपाल–ओलीबीच महाधिवेशन र नेतृत्वको विषयमा छलफल भएको छ ।

बुधवार साँझ नेता नेपाल ओलीको स्वास्थ्य अवस्था बुझ्न उनकै निवास बालकोट पुगेका थिए । स्वास्थ्य अवस्था बुझ्न बालकोट पुगेको भनिए पनि नेताद्वय बिच राजनीतिक र नेतृत्वबारे छलफल भएको छ ।

छलफलमा एक अर्काले आफुलाई सहयोग गर्न प्रस्ताव गरेका छन् । बरिष्ठ नेता नेपालले स्वास्थ्य अवस्थाका कारण पनि पार्टीको नेतृत्व हाक्न समस्या हुने भएकाले यसपटक अन्तिम मौकाका रुपमा आफुलाई सहयोग गर्न ओलीलाई प्रस्ताव गरेका थिए । स्रोतका अनुसार नेपालले स्वास्थ्यका विषयमा कुरा गर्दा ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । ‘तपाईले यसअघि पनि मेरो स्वास्थ्यसँग जोडेर नेतृत्वको कुरा गर्नुभएछ त्यसले राम्रो सन्देश जाँदैन’ ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘म पार्टी नेतृत्व हाँक्न सक्छु तपाई पनि मलाई सहयोग गर्नुहोला ।’

नेपालले भने ओलीलाई राष्ट्रपतिमा पठाउन सकिने बताएका थिए । ओलीले पार्टीको ठूलो पंक्ति आफ्नो पक्षमा रहेकाले आफ्नो जीत सुनिश्चित रहेकाले सम्मानजनक हैसियतमा रहने गरि सहयोग गर्न आग्रह गरेका थिए । नेता नेपालले पनि आफुलाइ एकपटक अध्यक्ष रहने चाहना भएकाले सहयोग गर्न आग्रह गरेका थिए । लामो स्वास्थ्य उपचारपछि थाइल्याण्डको बैंककबाट फर्किएका नेता ओली एक हप्ताको आरामपछि सक्रिय रुपमा लाग्ने बताइएको छ ।


  •  
  •  
  •