काठमाडौं, १८ असार (ओएनएस) बिहीवारदेखि सुरु हुने एमालेको नवौं महाधिवेशनमा प्रनितिधिलाई वधशालाको मासु नखुवाउने भएको छ । महाधिवेशन प्रतिनिधिलाई स्वच्छ खाना खुवाउन सबै चिजको लेवल हेरिने छ । ‘दैनिक २७ सय प्रतिनिधिलाई खाना खुवाउन प्रयोग हुने सबै खाना ताजा हुनुपर्ने व्यवस्था गरेको प्रचार विभाग सदस्य सुर्य थापाले जानकारी दिए ।‘वधशालाबाट ल्याइएको मासु बर्जित गरिएको छ । खसी यही ल्याएर घाटुनुपर्ने व्यवस्था गरेका छौं ’ थापाले भने ।
दैनिक प्रयोग हुने खाने तेलको लेवल अनिवार्य हेर्नुपर्ने व्यवस्था गरिएको छ । एमालेले महाधिवेशन प्रतिनिधिकोलागि होम स्टेको अवधारणा अघि सारेपनि त्यसलाई कम गर्दै सुनधारादेखि ज्याठा र गोंगबु बसपार्कसम्म लजको व्यवस्था गरिएको छ । निर्वाचनमा निर्वाचन भएको दुई घण्टाभित्र परिणाम थाहा हुने गरी विद्युतीय भोटिङ मेशिनको प्रयोग हुने निर्वाचन समितिका संयोजक सोमनाथ प्यासी अधिकारीले जानकारी दिए ।
यसैगरी महाधिवेशनस्थलमा स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मृगौला, सुगर तथा दाँतलगायतको उपचार हुने महाधिवेशन मुल व्यवस्थापन समितिका समिति विष्णु रिमालले जानकारी दिए । नवौं महाधिवेशनलाई ‘डिजिटललाइज’ बनाउने घोषणा गरेको छ । एमालेले सबै कामकारवाही सफ्टवेयरको माध्यमबाट गर्ने भएको छ । महाधिवेशन प्रतिनिधिलाई बार कार्डको व्यवस्था गरिएको छ भने सबै जानकारी एसएमएसमार्फत गराइने भएको छ । जसअनुसार एक दिनमा ३५ हजार एसएमएस गरिने छ ।
एमालेले नवौं महाधिवेशनमा भित्ते लेखन पर्चा पम्प्लेटकोे प्रयोग गरेको छैन । त्यसको ठाँउमा सोसल मिडिया प्रयोग गरिएको ज्ञवालीले जानकारी दिए । महाविधवेशनस्थलमा २ सय तालिमप्राप्त स्वंय सेवक परिचालन गरिने भएको छ ।
स्वंय सेवकको लागि आचारसंहिता जारी भएको सुरक्षा उपसमितिका संयोजक विष्णु पौडेलले जानकारी दिए । उनले महाधिवेशनको आन्तरिक सुरक्षा स्वंयसेवकले गर्ने र वाह्य सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मामा दिएको बताए । स्वंय सेवकले कुनै पक्षको पक्ष वा विपक्षमा वहश गर्न नपाउने भएका छन् ।
महाधिवेशनको व्यवस्थापनकोलागि गठित विभिन्न उपसमितिले आफ्नो काम पुरा भएको जानकारी गराएका छन् । महाधिवेशन घरमा बसेर प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।