काठमाडौ, १७ असार (ओएनएस) । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम स्वास्थ्यमन्त्री खगराज अधिकारीले दुनियाँको कुनै पनि ताकतले केपी ओलीलाई एमालेको भावी अध्यक्ष बन्नबाट रोक्न नसक्ने ठोकुवा गरेका छन ।
मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले ७५ प्रतिसत मत पाएर ओली अध्यक्षमा विजयी बन्ने दावी गर्दै वर्तमान पार्टी अध्यक्ष झलनाथ खनालले समेत ओलीलाई नै सहयोग गर्ने बताए ।
अधिकारीले माधवकुमार नेपाल पार्टीमा विचारक नभई समन्वयकारी भूमिकामा मात्रै रहेको भन्दै पाँचौ महाधिवेशनदेखिनै जनताको बहुदलीय जनवादलाई परिस्कृत गर्दै अहिलेसम्मको अवस्थामा ल्याउने केपी ओली भएको बताए ।
ओली समूहका सचिवका प्रत्यासी समेत रहेका नेता अधिकारीले भने– माधवकुमार नेपाल विचारक होईन । छैठौ महाधिवेशनदेखि आठौ महाधिवेशनसम्म पनि माधवकुमार नेपालको कार्यनीतिक प्रस्ताव पेश भएको छैन । सबै विचार ओलीकै हो, त्यसैले नेतृत्व पनि उहाँले नै गर्नु पर्छ ।’
कार्यक्रममा यूवा नेता एवम सचिवका उमेद्धवार योगेश भट्टराईले जनताको बहुदलीय जनबादको ब्याख्याता केपी ओली नभई माधवकुमार नेपाल भएको दावी गर्दै विचार नभएका ओलीले नेतृत्व लिए पार्टी भद्रगोल हुने चेतावनी दिए । उनले भने–विचार र नेतृत्वको तारतम्य नमिल्दा पार्टीमा समस्या आएको हो ।
उनले माधवकुमार नेपाल अहिलेसम्म अध्यक्ष नबनेकोले अध्यक्ष बन्न नसक्ने दावी अस्वस्थ्य प्रतिष्पर्धामा उत्रिएकाहरुले गर्ने गरेको आरोप लगाए । भट्टराईले भने–नेपालको उम्मेदवारी बैद्य हुँदैन भन्नेले विधान पल्टाएर हेर्नु पर्यो ।’
उनले सर्वसम्मतीमा झलनाथ खनालको सम्भावना पनि कायमै रहेको उल्लेख गर्दै सर्वसम्मती नभएको अवस्थामा खनालले पनि नेपाललाई नै समर्थन गर्ने दावी गरे ।
नवौ महाधिवेशनले राजनीतिक विकासलाई भन्दा पनि सामाजिक–आर्थिक विकासमा जोड दिने भन्दै नेकपा एमालेले अहिले आगामी ३५ वर्षे सपनाको खाँका तयार पार्ने बताए ।