एमालेले भन्यो, ‘भारतसँग निर्भर हुनुपर्ने सर्तबन्दीमा पाइपलाईन नबिछ्याइयोस’

295
  •  
  •  
  •  

prchand– kp oliकाठमाडौं, २६ भदौ (ओएनएस) :यही भदौ ३० गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेकपा (एमाले ) ले देश र जनताको हितमा मात्र सहमति, सम्झौता गर्न ध्यानाकर्षण गराएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहितको टोलीले आइतबार प्रधानमन्त्री दाहाललाई भेट गरी ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा दुई पक्षीय र बहुपक्षीय सम्बन्धमा आफ्नो राष्ट्रिय हितलाई ध्यान दिन आग्रह गरिएको छ ।

भ्रमणको क्रममा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्दै राष्ट्रिय हितलाई सर्वोपरी मानेर वैदेशिक सम्बन्ध संचालन गर्न एमालेले प्रम दाहालकाे ध्यानाकर्षण गराएको छ ।

 पूर्ववर्ती सरकारले भारत र चीनसँग गरेका सहमति तथा सम्झौताबारे वर्तमान सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न  पनि एमालेले माग गरेको छ ।  नेपालको आन्तरिक मामिलामा वाह्य सरोकार र चाँसो अनावश्यक रुपमा बढाउने कुनैपनि कार्य नगर्न ध्यानाकर्षण गराउदै एमालेले  मुुलुककाे हित, स्वाधीनता र स्वाभिमानमा आँच पुर्याउने कुनै पनि काम नगर्न  सचेत गराएकाे छ ।

एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा ‘नेपाल–भारतबीच सम्पन्न सहमति र सम्झौता तथा नेपालले चीनसँग गरेका पारबहन सुविधा प्राप्त गर्ने सम्झौता पनि अगाडि बढाउन’ माग गरेको छ ।

भारतसँग निर्भर हुनु पर्ने गरी शर्तबन्दी गरेर इन्धन आपूर्तिको पाइपलाईन नबिछ्याउन एमालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । ‘नेपालले इन्धन आपूर्तिका लागि भारतमा मात्र निर्भर रहनुपर्ने शर्त मान्ने गरी शर्तबन्दी गरेर पाइपलाइन बिछ्याउने कार्य नगरियोस,’ ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ, ‘नेपाल–भारत सीमा क्षेत्रमा इन्धन आपूर्तिका लागि पाइपलाइन बिछ्याउँदा नेपालले अन्य देशबाट समेत इन्धन आयात गर्नसक्ने प्रावधान खुला राखियोस् ।’

यसैगरी, भारतसँग सन् १९५० को सन्धी र त्यससम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने विषयमा स्पष्ट विचार राख्न, कानूनी सहायता तथा सपुर्दगी सन्धीमा नेपालले लामो समयदेखि नेपालका अदालतमा विदेशी कानून व्यवसायीहरुले बहस–पैरवी गर्नपाउने तथा तेस्रो मुलुकको नागरिकलाई सुपुर्दगी गर्ने भन्ने प्रावधान हटाउन नेपाल सरकारले राख्दै आएको अडान कायमै राख्न, महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि अन्तर्गत विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्दा महाकालीको आधा पानीमा नेपालको हक रहने, लाभको हिस्सा अनुरुप लगानी हुनुपर्ने, विद्युत उत्पादनको परिमाण घटाइनु नहुने विषयमा यथोचित छलफल गरेर मात्र अन्तिम निर्णय लिन, काठमाण्डौ–तराई मधेस द्रुत मार्ग नेपाल सरकारले आफै निर्माण गर्ने गरी स्रोत परिचालन गर्दै राष्ट्रिय हितको आधारमा अघि बढाउन एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

 हुलाकी राजमार्गको निर्माण गर्नको लागि भारत सरकारको सहयोगबारे स्पष्ट गर्न, दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाइनु पर्ने स्पष्ट धारणा राख्न  पनि एमालेले माग गरेको छ ।


  •  
  •  
  •