जाजरकोटको प्रकोप नियन्त्रण गर्न स्वास्थ्य मन्त्रीलाई एमालेको निर्देशन

129
  •  
  •  
  •  

काठमाडौ, २ बैशाख (ओएनएस) : नेकपा–एमालेले जाजरकोटमा फैलिएको इन्फ्लुयञ्जा प्रकोपको सम्बन्धमा स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई सोमबार पार्टी कार्यालय बल्खुमा बोलाई गम्भीर चासो व्यक्तगर्दै तत्काल रोकथाम र उपचारको उचित प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

पार्टी महासचिव ईश्वर पोखरेलका उपस्थितिमा स्वास्थ्य मन्त्री अधिकारी, स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले जाजरकोट जिल्लामा भइरहेको इन्फ्लुयञ्जाका सम्बन्धमा भर्खरै गरेको स्थलगत अध्ययन समेतको आधारमा पछिल्लो स्थिति जानकारी गराएका थिए ।

उनीहरुका अनुसार जिल्लामा हालसम्म २० देखि ९० वर्ष उमेरभित्रका १२ जनाको मृत्यु भएको, तीमध्ये ५ जनामा स्वाइन्फ्लु देखिएको र केही संख्याको पुष्टि हुन बाँकी रहेको, करिब २ हजार व्यक्तिको स्वास्थ्य परीक्षण भएको तथा प्रयाप्त चिकित्सक, स्वास्थ्यकर्मी र औषधीको प्रबन्ध मिलाइएको ५ ।

साथै, धामी–झाँक्री छाडी स्वास्थ्यकमीको उपचारमा पुगेका बिरामीलाई निको हुने क्रम सकारात्मक रहेको पनि उल्लेख गरे । यस प्रकोपलाई मध्यनजर गरी क्षेत्रीय निर्देशकको नेतृत्वमा उपचार र नियन्त्रणको काम प्रभावकारी र व्यवस्थित गरिएको तथा प्रकोप पीडितहरुको उपचारमा कुनै कमी हुन नदिएको समेत उनीरुले बताएका थिए ।

जिल्लामा गरिबी, बिषम बसाइ स्थिति, रहन–सहन, खान–पान र अन्धविश्वासका कारण पनि स्वास्थ्य समस्या जटिल स्थितिमा रहेको हुनाले मन्त्रालयका तर्फबाट प्रयाप्त स्वास्थ्यकर्मी र औषधी पु-याउन जोड दिंदै महासचिव पोखरेलले विभिन्न पार्टीसम्बद्ध राजनीतिक कार्यकर्ताहरुको सर्वदलीय परिचालनमार्फत नियन्त्रणका निम्ति प्रभावकारी रुपमा कदम चाल्न पनि आग्रह गरे ।

पोखरेलले आफ्नो पार्टीका तर्फबाट जाजरकोट जिल्ला कमिटीका साथै सबै स्थानीय कमिटीहरुलाई प्रकोप नियन्त्रणमा जुट्न निर्देशित गर्ने समेत बताएका थिए ।


  •  
  •  
  •