एमाले बैठकः१० बुँदे सहमति अनुमोदन, २२ सांसदलाई सोधियो २४ घण्टे स्पष्टीकरण

93
  •  
  •  
  •  


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।

सोमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ । २२ जना सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, मेटमणी चौधरी, गोपाल बम, भवानी खातुन, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, प्रेम आले, विनादेवी बुढाथोकी, किसान श्रेष्ठ, समिना हुसेन, कल्याणी खड्का, सरला यादव, धनबहादुर बुढा, लक्ष्मी चौधरी, जीवनराम श्रेष्ठ, पुष्पा कर्म कायस्त, निरा जैरु, पार्वती विसुंखे, हिराचन्द्र केसी र कृष्णलाल महर्जन रहेका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यन्वयनमा लगे पनि माधव नेपालले नमानेको बताए । बैठकमा आउन आग्रह गर्न गएका कार्यदलका सदस्यहरुसँग नेपालले आफू अल्पमतमा रहेको बैठकमा नआउने जवाफ दिएर पठाएको ओलीले बताए ।

ओलीले माधव नेपालले कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेको भन्दै क्षमा हुन नसक्ने बताए ।
अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको छ ।


  •  
  •  
  •