काठमाडौं, जेठ २५ (एजेन्सी) : पश्चिमी मुलुकले समर्थन गरेका युक्रेनका अर्बपति पेत्रो पोरोसेन्कोले शनिबार राष्ट्रपतिको रूपमा सपथग्रहण गरेका छन् । यसबाट रूसका विरोधमा विभाजित पूर्वसोभियत संघको एकभाग यस मुलुकका जनतामा रक्तपातपूर्ण संकटको समाधान हुने आशा गरिन थालिएको छ । मे २५ मा यस पदका लागि विजय हासिल गरेपछि एक दिनअगाडि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलोपटक भेट गरेपछि पोरोसेन्कोले किभको संसदमा राष्ट्रपति पदको सपथ लिए ।
विजयले उनलाई युक्रेनलाई थप विभाजन तथा आर्थिक रूपमा धराशयी हुन नदिन जनादेश प्राप्त भएको छ । ४८ वर्षीय व्यापारी पोरोसेन्कोलाई उनले व्यापार गरेको लोकिप्रिय मिठाइका कारण ‘चकलेट राजा’ को नाम दिइएको छ । उनले संसदलाई यसअघिको क्रेमलिन समर्थित सरकारलाई हटाउन किभमा भएको तीन दिने जनआन्दोलनमा जीवन गुमाएका एक सयजनाको आत्माको शान्तिका लागि एक मिनेट मौन धारण गर्न आग्रह गरे ।
यसपछि उनले चार करोड ६० लाख जनसंख्या भएको मुलुकमा शान्तिको पहिलो प्रयासको रूपमा कुनै पनि अपराधमा संलग्न नभएका विद्रोहीलाई क्षमादान गर्ने दृढता व्यक्त गरे । यस मुलुकले यसअघि नै क्रिमिया प्रायःद्वीप गुमाइसकेको छ । यस प्रायःद्वीपलाई रूसले आफूमा गाभेको छ भने यस मुलुकमा विभाजनको संकेत देखिएको छ । उनले युक्रेनी एकतालाई संरक्षण गर्न तथा बलियो बनाउन आफूले राष्ट्रपति पद सम्हालेको बताए ।
उनले रूसले क्रिमियालाई नियन्त्रणमा लिएको तथा युरोपसमर्थित प्रक्रियालाई भत्काउन खोज्ने प्रयासलाई आफूले कहिल्यै स्वीकार नगर्ने उल्लेख गरे । उनले क्रिमिया युक्रेनको एक भागको रूपमा रहने, यो सत्यको समय भएको र आफूहरूले नै आफ्नो भविष्य निर्धारण गर्नुपर्ने बताए । शनिबारको सपथग्रहण समारोहमा अमेरिकी उपराष्ट्रपति जो बाइडेन, युरोपेली परिषद्का अध्यक्ष हर्मन भान रोमपुय तथा किभलाई पश्चिमी मलुकसँग आवद्ध गर्ने प्रयासमा सहयोग गर्ने मुलुकका २० अन्य प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।
मस्कोले किभमा यस समारोहका लागि आफ्नो कार्यबाहक राजदूतलाई पठाएको छ । पोरोसेन्कोले सन् २००४ को ‘अरेन्ज रिभोलुसन’ पछि आएको पश्चिमसमर्थक सरकार तथा अपदस्थ राष्ट्रपति भिक्टर यानुकोभिचको मस्कोसमर्थित सरकारमा वरिष्ठ पद सम्हालेका छन् । उनको व्यावहारिक विधिले आठ साता लामो रूससमर्थित विद्रोहको प्रयासको समाधान प्राप्त गर्ने आशा युक्रेनी जनतामा बढेको छ ।