काठमाडौं । उखु किसानहरुले २१ दिन भित्र उद्योगीहरुबाट सबै भुक्तानी नपाए पुनः आन्दोलनमा उत्रिने बताएका छन् । सरकार र किसानहरुबीच सोमबार साँझ २१ दिन भित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ ।
सरकारले २१ दिन भित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन् । किसानहरुले ९० कारोड रुपैयाँ लिनु पर्ने बताएपनि उद्योगीहरुले ६५ करोड रुपैयाँ मात्रै भुक्तानी दिन बाँकी रहेको बताएपछि त्यसको छानबिनका लागि समिति गठन गर्ने सम्झौता भएको छ ।
उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले आफुहरुले उद्योगीबाट ९० करोड रुपैयाँ लिनु पर्नेमा उद्योगीहरुले ६५ करोड रुपैयाँ मात्रै भुक्तानी दिन बाँकी भएको बताएकोले छानबिन गरी भुक्तानी दिलाउने सम्बन्धमा समेत सहमति भएको बताए ।
सरकारले तोकेको मूल्य भन्दा ३६ रुपैयाँ कममा मूल्य निर्धारण गरी भुक्तानी गर्ने उद्योगीहरुलाई पनि कारबाही गरिनुपर्ने र ब्याज सहित रकम असुली हुनुपर्ने किसानहरुको माग छ । उखु किसानहरु उद्योगीबाट भुक्तानी दिलाइदिन माग गर्दै मंसिर २८ गते यता काठमाडौंको माइतीघर मण्डलामा बसेर आन्दोलन गर्दै आएका थिए । गत वर्ष पनि आन्दोलन गरेका किसानहरु सरकारको उपस्थितिमा एक महिना भित्रमा भुक्तानी पाउने सम्झौता गरेर घर फर्किएका थिए । तर उद्योगीहरुले एक वर्ष सम्म पनि भुक्तानी नदिएछि किसानहरु फेरी आन्दोलन गर्न काठमाडौं आएका हुन् ।