प्रहरीले उजुरी लिन नमानेकाे गुनासाे

87
  •  
  •  
  •  

काठमाडौं, १ जेठ (ओएनएस) : गएको वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृति कुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरबाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरी न्याय दिलाउनुपर्ने सरकारसँग माग गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदापनि कतैबाट उचित न्याय नपाएको गुनासो गरे ।

उनले भने,‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ ।’

शल्यक्रिया गर्नुपूर्व विरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको समेत बुवाले सुनाए ।

उनले भने,‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेरपनि न्याय पाउँ भनि हारगुहारसमेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे ।

बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए ।

शल्यक्रियापूर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा विरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको थियो । तर, निधनपछि सोही ठाउँमा टिपेस लगाएर २० देखि ३५ प्रतिशत बनाईएको छ ।’
प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदापनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाए ।

आफूहरु शल्यक्रियामा संलग्न चिकित्सक र ल्याबका व्यक्तिको नाम उल्लेख गरेर मुद्दा दर्ता गराउन गएको भएपनि मुद्दा दर्ता नभएको पनि उनले सुनाए ।

उनले प्रहरी वृत्त महाराजगन्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको पनि जनाए । त्यस्तै, उनले पछिल्लो समय आफूहरुलाई ज्यानको पनि असुरक्षा महशुस भैरहेको जानकारी दिए ।

बरिष्ठ अधिवक्ताद्धय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घटनामा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरे ।


  •  
  •  
  •