पन्ध्र महिनामा अख्तियारमा झण्डै २२ हजार अनियमितताका उजुरी

116
  •  
  •  
  •  

काठमाडौं, १ असोज (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७० बैशाखदेखि २०७१ श्रावण मसान्तसम्ममा दर्ता भएका उजुरीहरुको संख्या २१ हजार ६ सय १६ पुगेको छ ।  ।

आयोगले सुशासन तथा अनुगमन समितीलाई आज गोप्य रुपमा बुझाएको प्रतिबेदनमा हालसम्म दर्ता भएका उजुरीहरुको अवस्थाबारे उल्लेख गरिएको हो । २०७० साल माघ महिनासम्म आयोगमा विगतदेखि फछ्र्याेट हुन बाँकी उजुरीहरुको संख्या १०२३५ रहेकोमा २०७१ साल श्रावण मसान्तसम्मको ६ महिनामा ११३८१ उजुरीहरु थप भई कुल उजुरीको संख्या २१६१६ पुगेको हो ।

फछ्र्यौट भएकाहरुमध्ये १७४४ वटा उजुरीहरु विस्तृत अनुसन्धानका लागि तोकिएको, ७७९० वटा उजुरीहरुमा विभिन्न कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको र ५५९७ वटा उजुरीहरु तामेलीमा राखिएकाछन् ।

आयोगमा दर्ता भएका विभिन्न मुद्दाहरुमा ६९ करोड ४७ लाख बराबर बिगो माग दाबी लिइएको र असुल उपर, जरिवना र बक्यौता असुली समेत गरी २८ करोड ४ लाख राज्य कोषमा दाखिल गराइएको गोप्य प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै आयोगमा पर्न आएका उजुरीहरु प्रायः शिक्षा, संघीय मामिला तथा स्थानीय विकास, गृह, भूमि सुधार र स्वास्थ्य मन्त्रालयसँग सम्बद्ध क्षेत्रहरुबाट बढी उजुरी परेको देखिएको छ । यसबाहेक ऊर्जा क्षेत्रसँग सम्बन्धित केही ठूला प्रकृतीका अनियमितता बारेमा समेत अनुसन्धान हुदै गरेको आयोगले उल्लेख गरेको छ ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आफू अख्तियारमा आइसकेपछि भ्रष्टाचारीहरुबाट ३५ करोड ७१ लाख बराबरको रकम असूल उपर गराएको जानकारी दिएका छन् ।  संसदको सुशासन तथा अनुगमन समितिलाई कार्कीले दिएको ५ पृष्ठ लामो प्रतिवेदनमा अख्तियारले बिभिन्न मुद्दाहरुबाट करीव ७० करोड बराबरको बिगो दाबी गरिएको उल्लेख छ । साथमा विगत १५ महिनामा आयोगले गरेका समष्टिगत कार्यसम्पादका र उपलब्धिबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।


  •  
  •  
  •