उदयपुर कारागारमा झडप, ५ कैदी घाईते, १ गम्भिर

501
  •  
  •  
  •  

उदयपुर, ५ मंसिर (ओएनएस): जिल्ला कारागार उदयपुरमा शुक्रबार कैदी बन्दीबीच दोहोरो झडप हुँदा ५ घाईते भएका छन् । बिहान ११ः३० बजे कारागारका नाइके मनोज राईको समुहलाई कैदी सन्जिव राईको समुहले आक्रमण गरेपछि झडप भएको हो ।

झडपमा नाईके मनोज, कैदी युवराज विक, भगवत मलाहा, तुलसी राई र सन्जिव राई घाईते भएको कारागार प्रशासनले जनाएको छ । घाईतेमध्ये तुलसीको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि जिल्ला वाहिर पठाईएको छ भने अन्य सबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहको जेलर मुकुन्द ढकालले बताए ।

तुलसीको टाउकोमा गम्भिर चोट लागेको छ । नाइकेको समूहले सरुवा हुने कैदीबन्दीको रेर्कड स्थानीय सुरक्षा प्रमुखहरुलाई नदिएको, कैदीको शोषण गरेको र सरुवा भएर जाने कैदीबाट रकम असुलेको भन्दै कैदी सन्जिवको समूहले आक्रमण गरेको खुलेको छ ।

झडपलगतै जिल्ला प्रहरी कार्यालयको टोलीले जेललाई नियन्त्रणमा लिएर घाईतेहरुको उद्दार गरेको थियो । घटनाको थपअनुसन्धान भईरहेको उदयपुर प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङ्गले बताए । दुई समूहबीच झडप भएपछि कारागामा भएको तनाव अहिले सामन्य बन्दै गएको एसपी गुरुङले बताएका छन् ।

५० जना क्षमता रहेको कारागारमा अहिले एक सय १२ जना कैदी रहेको कारागार प्रमुख ढकालले बताए ।


  •  
  •  
  •