सरकारबाट फिर्ता हुने नहुने बारे एमाओवादीले आज निर्णय गर्ने

213
  •  
  •  
  •  

काठमाडौँ, २३ बैशाख(ओएनएस) : एमाओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने वा निरन्तरता दिने भन्ने बिषयमा आज निर्णय गर्ने भएको छ ।

आफ्नै नेतृत्वमा सरकार गठनको प्रयासमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका शीर्ष नेताहरुको औपचारिक तथा अनौपचारिक कुराकानीलाई बिहानैदेखि तीब्रता दिएका छन् । पार्टीको औपचारिक बैठकको बारेमा केहीबेर अघिसम्म टुङ्गो नलागेको भए पनि अनौपचारिक छलफल भने भइरहेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

हिजो साँझ बालुवाटारमा नेकपा एमालेसँग भएको छलफलमा एमाओवादीले आजसम्म सरकारमा रहने वा नरहने बारेमा निर्णय गर्ने बताएको थियो । आगामी आर्थिक वर्षको बजेट ल्याएको भोलिपल्टै आफैले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावपछि निर्णय गर्न एमाओवादीले आजको भाका राखेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ सरकार गठनमा सहयोग गर्ने आश्वासन दिएपछि एमाओवादीले हिजो आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न सबै राजनीतिक दललाई आह्वान गरेको थियो । सरकारबाट बाहिरिने वा रहने भन्ने एमाओवादीको निर्णयपछि एमाले र एमाओवादी बीच पनि आजै छलफल हुनेछ ।


  •  
  •  
  •