प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादी निर्णय

345
  •  
  •  
  •  

Prachandaकाठमाडौँ, २२ बैशाख(ओएनएस) : एकीकृत नेकपा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको छ । प्रचण्डनिवास लाजिम्पाटमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुन सबै दललाई अपिल गर्ने पनि निर्णय गरेको छ ।

बैठकपछि विज्ञप्ति जारी गर्दै एमाओवादीले भनेको छ, ‘राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधानसहित संविधान क्रियान्वयन र पुनर्निर्माणको कार्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले राष्ट्रिय सहमतिमा जोड दिँदै नेकपा (एमाले) को नेतृत्वको वर्तमान सरकार गठन गर्न पहल गरी सहभागी भएको हो । हाम्रो पार्टीले उपयुक्त विषयहरुमा लगातार सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएका हौं । तर वर्तमान नेतृत्व अन्तर्गत सरकारले त्यस दिशामा परिणाममुखी कार्य अगाडि बढाउन सकेको देखिएन । यस स्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कााग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, जनअधिकार फोरम (लोकतान्त्रिक) लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्ने प्रक्रियामा अघि बढ्न अपिल गर्दछ ।’

नेपाली कांग्रेसले एमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेपछि प्रचण्ड ओली सरकारबाट पछि हट्न तयार भएको नेताहरूले बताएका छन् । पदाधिकारी बैठकपछि एमाओवादी सचिव वर्षमान पुनले भने सहमतिको सरकारका लागि राप्रपा नेपाल, एमाले र फोरम नेपालसँग छलफल भइसकेको बताए । नेपाली कांग्रेसले अगाडि बढ्नोस् भनेको हुनाले पनि आफूहरु अघि सरेको पुनको भनाइ थियो ।Press-Statement-of-Maoist


  •  
  •  
  •