टुटेको संवाद जोड्न एमाओवादी प्रस्ताव

481
  •  
  •  
  •  

maiost-flagकाठमाडौ, ८ माघ(ओएनएस) : एकीकृत नेकपा माओवादीका दोस्रो तहका नेताहरुले टुटेको संवाद जोड्न प्रस्ताव गरेका छन् । सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले संविधानसभामा भएको तोडफोडपछि वार्ताका लागि तयार नभएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङमार्फत एमाओवादीका दोस्रो तहका नेताले बुधबार राति प्रस्ताव पठाएका हुन् ।

एमाओवादी नेता तथा संविधानसभाको संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आज बिहान टेलिफोन गरी दलहरुबीचको संवाद जोड्न पहल गरिदिन प्रस्ताव गरेका हुन् ।

भट्टराईले सोमबार बिहान जुन ठाउँमा थियो त्यही ठाउँबाट संवाद सुरु गर्न आफुहरु तयार भएको बताए । ‘तपाईंको पहलमा प्रमुख दलहरुको बैठक बसौँ । त्यसबाट संवादको प्रक्रिया अगाडि बढाउन सकिन्छ । सर्वदलीय बैठक बसेर पनि सामूहिक छलफल गर्न सकिन्छ,’ भट्टराईको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो ।

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मंगलबार राति नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि संवाद सुरु गर्न भन्दै टेलिफोन गरेका थिए । एमाओवादी दोस्रो तहका अरु नेताले पनि संविधानसभामा भएको तोडफोडपछि सभाध्यक्ष नेम्वाङलाई भेटिसकेका छन् ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सभाध्यक्ष नेम्वाङलाई बुधबार सिंहदरबार पुगेर भेट गरेका थिए । ‘हुन लागेको सहमति र सहमति भइसकेका विषय अब त्यसै खेर जान दिनुभएन । त्यहीँबाट वार्ता प्रक्रिया अघि बढाउन पहल गर्नुपर्यो ।’ बिहीबार बिहान त्यही कुरा भट्टराईले पनि दोहोर्याएका छन् ।

सभाध्यक्ष नेम्वाङलाई भेट्न वर्षमान पुन र प्रभु साह पनि बालुवाटार पुगेका थिए । सभाध्यक्ष नेम्वाङले एमाओवादीबाट आएका प्रस्ताव सरकारलाई जानकारी गराएको बताए । ‘उहाँहरुका कुरा जस्ताको तस्तै सत्तापक्षकहाँ पुर्याइदिएको छु । सत्तापक्षबाट कुनै प्रतिक्रिया आएको छैन,’ ओएनएससँग नेम्वाङले बिहीबार बिहान भने ।


  •  
  •  
  •