एमाओवादी केन्द्रीय समिति बन्यो महाधिवेशन आयोजक समिति

292
  •  
  •  
  •  

maoist_buildingकाठमाडौं, २८ मंसिर (ओएनएस) :  एकीकृत माओवादीले अर्को वर्ष माघमा महाधिवेशन गर्न प्रक्रिया अघि बढाएको छ । आइतबार बिहान स्थायी समितिको बैठकपछि पार्टी मुख्यालय पेरिस डाँडा कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । अहिलेको केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको पार्टीका एक केन्द्रीय नेताले जानकारी दिए ।

यसअघि आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी कमिटि बैठकले पदाधिकारीलाई विघटन गरी केन्द्रीय समितिमात्रै राख्ने र केही समयभित्रै विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । अध्यक्ष दाहालले नयाँ महाधिवेसन सहितको बुँदागत प्रस्ताव पेश गरेका छन् ।

एक बर्षभित्र महाधिवेशन गरि नेतृत्व हस्तान्त्रण गर्ने विषयमा दाहालले प्रस्ताव पेश गरेको एक सदस्यले बताए । तर, आफुले नेतृत्व छाड्ने विषयमा उनले केही बताएका छैनन ।

समितिको बैठकले पार्टीभित्रको विवादलाई हल गर्न र अरु माओवादी घटकसँगको एकतालाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाउनेसमेत स्थायी समितिले निर्णय गरेको थियो ।

केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गरेपछि जिल्ला समितिलाई समेत आयोजक समितिमा रुपान्तरण गरिनेछ । पदाधिकारीको विघटन गरेपछि त्यसमा रहेका सबै सदस्यहरु स्वतः केन्द्रीय सदस्यमात्रै रहनेछन् ।

पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले गत साल विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि निर्वाचित भएको पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई अस्वीकार गर्नुभएपछि एमाओवादीभित्र विवाद बढेको थियो ।


  •  
  •  
  •