सभाध्यक्षको प्रस्ताव अलोकतान्त्रिक र आपत्तिजनक : एमाओवादी

105
  •  
  •  
  •  

maoist_buildingकाठमाडौं,  १८ पुस (ओएनएस) : प्रमुख विपक्षी दल एमाओवादीले बिहिबार कार्यव्यवस्था समितिमा सभाध्यक्ष सुवास नेम्वाङले गरेको प्रस्ताव अलोकतान्त्रिक र आपत्तिजनक भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यायल पेरिस डाँडा कोटेश्वरमा पत्रकारहरुसँगको नियमित भेटघाटको क्रममा एमाओवादी प्रवक्ता दिनानाथ शर्माले भने ‘सभामुखले दलहरुलाई सहमति गर्न सुझाव दिन सक्नुहुन्छ तर आफै संविधान बनाउछु भन्दै अधिकार माग्नु अलोकतान्त्रिक र आपत्तिकजनक छ । ’

शर्माले सहमतिको आधारमा संविधान जारी गर्नुको सट्टा प्रक्रियामा धकेन्न खोज्ने सभामुखको प्रस्तावलाई एमाओवादीले नमान्ने बताए । साथै शर्माले नियम कानुनलाई मिच्दै आफै संविधान लेख्ने जिम्मा लिन खोज्नु कानुनको विपरित भएको एमाओवादीको ठहर रहेको बताए । शर्माले सभाध्यक्षको उक्त प्रस्ताव ‘सभाध्यक्षले ल्याएको जस्तो नभई एमालले ल्याएको’ जस्तो भएको भनि टिप्पणी गरे ।

यसअघि नेपाली काँग्रेसले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बिहिबार राखेको प्रस्वाव सकारात्मक भएको निश्कर्ष निकालेको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको बैठकले संविधान निर्माणको लागि सभाध्यक्ष नेम्वाङले चार दिन भित्र सहमति गर्न वा सहमति गर्न नसके संविधानको पहिलो मस्यौदा तयार गर्ने अधिकार दिने गरेको प्रस्वात सकारात्मक भएको निश्कर्ष निकालेको हो ।

अध्यक्ष नेम्वाङले बिहिबार बसेको कार्यव्यवस्था समितिको बैठकम प्रक्रियालाई छोट्याउन संविधानसभाका कार्यसञ्चालन नियमावली, २०७० को नियम १७० बमोजिम सभाध्यक्षको अधिकार प्रयोग गरी मस्यौदा तयारी र जनतामा पठाउने विषयसँग सम्बन्धित विभिन्न नियम निलम्बनको प्रस्ताव गरेका थिए । उनले छोटो समयमा संविधान जारी गर्दा आउने दोषलाई आफूले विष पिएसरह पचाउन पनि तयार भएको तर तोकिएको समयमै संविधान ल्याउन सो प्रस्ताव ल्याएको बताएका थिए ।

दलहरुबीच राज्य पुनर्सरचना, शासकीय स्वरुप, न्याय प्रणाली लगायतका बिषयमा विवाद बढ्दा संविधान तोकिएको मितिमा संविधान आउने संभावना कम छ ।


  •  
  •  
  •