एमाओवादीसँग सहमति भएपछि आज संसद् सुचारु हुने

123
  •  
  •  
  •  

काठमाडौं, जेठ २५ (ओएनएस) केही दिनदेखिको संसद बैठक अवरोध आइतबारदेखि हट्ने भएको छ । व्यवस्थापिका संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संसद् बैठक खुलाउन एमाओवादी सहमत भएपछि संसदको अवरोध हट्ने भएको हो ।

प्रमुख तीन दलको बैठकमा यसअघि सहमति भइसकेको उच्चस्तरीय राजनीतिक समिति यथाशीघ्र बनाउने, सो समितिमा मधेश केन्द्रित दललाई पनि समेट्ने लगायतको सहमति भएको छ । जारी संसद् अवरोध खुल्नेबारे एमाओवादी लचिलो भएको छ । अर्थमन्त्री डा. रामशरण महतले जथाभावी रकमान्तर गरेको बारे उठेका विषयमा अर्थमन्त्रीले संसद्मा जवाफ दिनेबारे एमाओवादी लचिलो बनेको हो । सम्भवत आइतबार बस्ने व्यवस्थापिका संसद् बैठकमा अर्थमन्त्री डा. रामशरण महतले रकमान्तरका विषयमा जवाफ दिने छन् । यसअघि राजधानीमा शनिबार भएको एक साक्षात्कारमा पनि एमाओवादी नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले रकमान्तको विषय ठूलो नभएको र संसद् अवरोध राजनीतिक विषय भएको बताउँदै आइतबारदेखि संसद् सुचारु हुने बताएका थिए ।

उनले देश विकासको मेरुदण्डको रूपमा रहेको बजेटमा राजनीति गर्न नहुने बताएका थिए । बालुवाटारमा भएको तीन दलको बैठकमा रकमान्तरका विषयमा कहीँकतै गलत भएको भए अनुगमन समिति बनाएर अघि बढ्ने सहमति भएको हो । बैठकमा उच्चस्तरीय राजनीतिक समिति बनाउने विषयमा दलहरूबीच यसअघि भइसकेको सहमति कार्यान्वयन गर्ने विषयमा दलहरू प्रतिबद्ध भए पनि संयोजक को हुने भन्ने विषय भने टुंगो लागिसकेको छैन । बैठकमा सहभागी एक नेताले भने, ‘राजनीतिक सहमति बनाउने विषयमा सहमति भयो, संयोजकका विषयमा फेरि छलफल भई टुंगो लाग्छ ।’ उच्चस्तरीय राजनीतिक समितिको संयोजक आफूले पाउनुपर्ने एमाओवादीको दाबी छ भने एमालेले कांग्रेसलाई दिनुपर्ने बताएको छ । एमालेले त व्यवस्थापिका संसद्लाई छायामा पार्ने गरी समिति बनाउन नहुनेमा जोड दिँदै आएको थियो । तर राजनीतिक गतिरोध फुक्ने भए समिति बनाउँदा खासै फरक नपर्ने एमालेको पनि निचोड रहेको छ ।

कांग्रेसले यसबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइराला उच्चस्तरीय राजनीतिक समिति बनाउन इच्छुक नभए पनि जारी राजनीतिक गतिरोध हट्ने भए समिति बनाएर अघि बढ्नुपर्नेमा सहमत देखिएका छन् । संसद् सुचारु गर्न सैद्धान्तिक सहमति जुटाए पनि आइतबार बिहान फेरि शीर्ष तहमा छलफल गरी विवादित विषय टुंग्याइने छ ।

प्रमुख विपक्षी एमाओवादीलगायतका दलले अर्थमन्त्रालयले जथाभावी रकमान्तर गरेको भन्दै वर्षे अधिवेशन सुरु भएको जेठ १६ गतेदेखि नै लगातर संसद् बैठक अवरुद्ध पार्दै आएको छ । उसले संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधलीका बारेमा संसदीय समिति बनाउनुपर्ने यसअघिको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । शनिबार भएको बालुवाटार बैठकमा पनि संसदीय सहमति बनाउने विषयमा छलफल भएको थियो । केही दिनदेखिको जारी संसद् अवरोध हटाउने विषयमा छलफल हुने भनिए पनि प्रधानमन्त्री सुशील कोइराला चीन भ्रमणमा गएका कारण दुई दिन दलहरूबीच छलफल हुन सकेको थिएन ।


  •  
  •  
  •