नेपाल–चीन उच्चस्तरीय वार्ता शुरु

510
  •  
  •  
  •  

काठमाडौं । नेपाल–चीन उच्चस्तरीय वार्ता शुरु भएको छ ।  परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता काठमाडौंमा शुरु भएको हो ।

होटल याक एण्ड यतीमा शुरु भएको वार्तामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् । टोलीमा अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी छन् ।

यस्तै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री वाङ यीले गरेका छन् । चार वर्षको अन्तरालमा वार्ता भएको हो ।
आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ ।

वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइनेछ ।

नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका मामिलामा पनि गहन छलफल हुनेछ ।


  •  
  •  
  •