अलपत्र नेपाली कामदारको उद्दार प्रक्रिया शुरु

679
  •  
  •  
  •  

काठमाडौं,  पुस(ओएनएस) : युएईको आबुधाबीमा अलपत्र १ सय ५० जना नेपाली कामदारको उद्दार प्रक्रिया शुरु भएको छ ।

अल वासिता एमिरेट्स क्याटरिङ कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र १ सय ५० नेपालीसहित ७ सयभन्दा धेरै कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशासनले चासो देखाएको हो ।

उनीहरु काठमाडौंको सितापाइलास्थित सन हिल्स ओभरसिज सर्भिसेज प्रालिबाट युएईको आबुधाबी पुगेका थिए ।
कम्पनी संचालक जोर्डन नागरिकले यूएई छोडिसकेको र कम्पनी नामसारी प्रक्रियामा रहेका बेला अलपत्र परेका कामदारलाई अहिले आबुधाबीको स्थानीय प्रशासनको समन्वयमा श्रम मन्त्रालयले खानाको व्यवस्था गरेको छ ।

कम्पनीको क्याम्पमा पानी र बिजुलीसमेत काटिएको र खानाको समेत समस्या भएको थियो ।
स्थानीय प्रशासनले चासो देखाएर पानी र बिजुलीको व्यवस्थासहित खाना उपलब्ध गराएको कञ्चनपुरका गणेश महराले जानकारी गराए ।

नेपालीसहित भारत, पाकिस्तान, बङ्लादेश , श्रीलंका, फिलिपिन्स लगायतका कामदार अलपत्र परेपछि यहाँ रहेका सम्बन्धित देशका दूतावासले यहाँको श्रम तथा परराष्ट्रमा पत्राचार गरेका थिए ।

क्याम्पमा अलपत्र कामदारले पाउनु पर्ने सेवा सुविधाबारे लिखित सूची स्थानीय प्रशासनले बनाएको पीडितहरुले बताएका छन । त्यही सूचीअनुसार कम्पनीको व्यवस्थापन पक्षसँग आइतबार छलफल गरेर उद्दार प्रक्रिया शुरु गरिने कम्पनीले जनाएको छ ।


  •  
  •  
  •