काठमाडौं १५ मंसिर (ओएनएस) : एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजदेखि बस्दैछ । अघिल्लो वर्षको मंसिरमा बसेर स्थगित हुँदै आएको एमाओवादीको केन्द्रीय समिति बैठक बीचमा केही समय बस्दै पटक–पटक स्थगित हुँदै आएको छ ।
पार्टी सचिव वर्षमान पुन बिरामी भएर भारतमा उपचाररत रहेकाले यसअघि बैठक स्थगित भएको थियो ।
अघिल्लो वर्ष बसेको बैठकमा अध्यक्ष प्रचण्डले २५ बुँदे प्रस्ताव पेश गर्दै वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेका थिए । तर डा भट्टराईले भने पार्टी नै परित्याग गरेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका छन् । आजको बैठकमा बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रस्ताव लैजाने पनि तयारी छ ।
मोहन वैद्य किरणसँम्ग पटक पटक छलफल भइसकेको छ । स्रोतका अनुसार प्रचण्डले संविधान जारी भएपछि पूरानो कार्यदिशा सकिएकाले नयाँ कार्यदिशासहित पार्टी संगठन सुदृढीकरणको प्रस्ताव समेटेर दस्तावेज तयार गरेका छन् ।