एमाओवादीद्वारा संविधानसभा र संसद बहिष्कार गर्ने निर्णय

396
  •  
  •  
  •  

prachandaकाठमाडौ, १४ माघ (ओएनएस) : संविधानसभामा प्रश्नावली निर्माण समिति गठन गरिएपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी दल एमाओवादीले संविधानसभा र संसदका सबै समिति बहिष्कार गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको एमाओवादीको संसदीय दलको बैठकले सभाध्यक्ष सुवास नेम्वाङले जवरजस्ती प्रक्रियाको सुरुआत गरेको भन्दै उनलाई असहयोग गर्न संविधानसभा र संसद बहिष्कार गर्ने निर्णय गरेको हो ।

यसअघि सभाध्यक्षले गत माघ ११ मा प्रस्ताव निर्माण समिति गठन गरेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेको माओवादीको बहिष्कार आगामी फागुन १६ गतेसम्मको लागि भएको नेता अग्नी सापकोटाले जानकारी दिए ।

एमाओवादीले बहिष्कार गर्ने निर्णय गरेपछि आगामी शनिबार बस्न लागेको प्रस्ताव निर्माण समितिको पहिलो बैठक समेत प्रभावित हुने भएको छ ।

पहिलो चरणमा सभाध्यक्षलाई असहयोग गर्ने आन्दोलन अनुसार यो निर्णय गरिएको नेता सापकोटाले जानकारी दिए ।

फागुन १६ मा एमाओवादीले राजधानीमा सभा गर्ने यसअघि घोषणा गरिसकेको छ । त्यसबेलासम्म आन्दोलनको तयारी गर्न र आन्दोलनलाई प्रभावकारी बनाउन संसद र संविधानसभाका सबै समिति बहिष्कार गरिएको बताइएको छ ।

फागुन १६ पछि परिस्थिति हेरेर थप निर्णय गरिनेछ । केन्द्रिय समितिको बैठक बोलाएको संसदीय दलले जिल्ला जिल्लामा सत्तापक्षबिरुद्ध भण्डाफोर गर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।


  •  
  •  
  •