
काठमाडौ, ३० पुस (ओएनएस) : यू–१९ राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई प्रशिक्षण लिन इङ्ल्यान्डको मेरिलिवोन क्रिकेट क्लबले आमन्त्रण गरेको छ ।
यू–१९ टिमका कप्तान राजु रिजाल र दिपेन्द्रसिंह ऐरिलाई विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलिबोनले ५ महिना प्रशिक्षण गर्न आमन्त्रण गरेको नेपाल क्रिकेट संघ (क्यान) की सिइओ भावना घिमिरेले जनाएकी छिन् ।
दुबै क्रिकेटरले आगामी अप्रिल १ देखि सेप्टेम्बर १ सम्म मेरिलिबोन क्लबमा प्रशिक्षण लिने मौका पाउनेछन् । उक्त प्रशिक्षण इङ्ल्याण्डको लर्डस् क्रिकेट ग्राउन्डमा हुनेछ ।
प्रशिक्षणको दौरान उनीहरुले ट्वान्टी–ट्वान्टी, एकदिवसीय र तीनदिवसीय क्रिकेट खेलमा अभ्यास गर्ने मौका पाउनेछन् ।
विश्वका युवा क्रिकेटरलाई प्रशिक्षण गराउने मेरिलिबोनमा यसअघि नेपाली टिमका नरेश बुढाऐर र राजेश पुलामी मगरले पनि प्रशिक्षण लिइसकेका छन् ।