काठमाडौं, २६ कात्तिक (ओएनएस): कुवेतमा जारी यू–१९ एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले कमजोर ब्याटिङ गरेको छ ।
यसअघि लगातर दुई खेलमा जित हात पारेको नेपालले तेस्र्रो खेलमा मलेसियालाई खेल जित्न ११६ रनको झिनो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर खेल्दै ११५ रन बनाउदा सबै विकेट गुमायो ।
नेपालको लागि कप्तान राजु रिजालले सबैभन्दा बढि ३९ रन बनाए । रिजालले ५६ बल खेल्दा ४ चौका प्रहार गरे । यस्तै ओपनर शुनील धमालले १९ र उनका जोडी प्रेम तामाङले १६ रन जोडे । पुछार क्रमका ब्याट्सम्यान योगेन्द्रसिंह कार्कीले ११ रन बनाउदा दिपेन्द्र सिंह ऐरि १२ रनमा आउट भए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको इनिङ ध्वस्त पार्न मलेसियाका बिरन्दीप सिंहले ३ विकेट लिदा अन्वार रहामान, पवनदिप सिंह र मोहमद हाफिजले २–२ विकेट लिए । यसअघि नेपालले पहिलो खेलम साउदी अरेबियालाई १९५ रन र कुवेतलाई २६२ ले पराजित गरेको थियो ।