यु–१६ क्रिकेट टीमलाई जनही ५० हजार दिइने

285
  •  
  •  
  •  

काठमाडौं,  ७ भदौ  : १६ वर्षमुनि उमेर समूहको एसीसी प्रिमियर लिग क्रिकेटको च्याम्पियन नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्बीचको छलफलपछि मन्त्रालयले सरकारसमक्ष जनही ५० हजार रुपैयाँ दिन सिफारिस गरेको हो । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले खेलाडीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै सो जानकारी दिए । उनले भने, ‘हामी सबैको सहमतिमा ५० हजार रुपैयाँ दिनका लागि मन्त्रालयमार्फत सिफारिस भइसकेको छ, मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै पुरस्कार दिनेछौं ।’ उनले एकल विधाका खेलहरूमा पुरस्कार दिन यसअघि नै कानुन बनाइसकेको भए पनि समूहगत खेलको सफलतामा पाउने पुरस्कारका लागि कानुन नबनाएका कारण समस्या रहेको बताए । उनले अब छिट्टै कानुन र आधार बनाएर अगाडि बढ्नेसमेत जनाए ।

उनले आफूले क्रिकेटका बारेमा पहिला कम चासो राख्ने गरेको भए पनि मन्त्रालय सम्हालेपछि क्रिकेटले पाइरहेको सफलताका कारण अहिले चासो दिन थालेको बताए । उनले भने, ‘म आफंैले पनि अहिले क्रिकेटप्रति रुचि राख्न थालेको छु, मलाई रुचि लाग्नुको कारण क्रिकेट क्षेत्रले पाएको सफलताले नै हो ।’
उनले सरकारले पनि क्रिकेटलाई प्राथमिकतासहित अगाडि बढाएको बताए । उनले प्रतियोगिताका लागि सहयोग वा भौतिक पूर्वाधार वा पुरस्कारकै विषयमा पनि सरकार सधैं सकारात्मक रहेको जनाए । मन्त्री पौडेलले खेलकुदमा देखिएको विवादका बारेमा समेत बोल्दै चुनौतीलाई सामना गर्दै अगाडि बढ्न आवश्यक रहेको समेत बताए । उनले भने, ‘चुनौती र समस्या छन्, त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्छ ।’

उनले उमेर समूहका खेलाडीले दिएको सफलताले नेपाली क्रिकेटको भविष्य देखाएको बताउँदै प्रोत्साहन दिन आवश्यक रहेको समेत जनाए । यसैबीच नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरूलाई शुक्रबार एक समारोहको आयोजना गरेर जनही २० हजार रुपैयाँ प्रदान गरेको थियो । खेलाडीहरूले भने आफूहरूले पाएको पुरस्कारको २० प्रतिशत रकम सरकारको बाढीपीडित राहत कोषमा उपलब्ध गराउने घोषणा गरेका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले क्रिकेट खेलको विकासका लागि परिषद् सधैं तत्पर रहेको बताए । उनले क्यानका १० पदाधिकारीमाथि आर्थिक अनियमितताको आरोप लागिरहेका बेला खेलाडीले दिएको सफलताले भने सबैलाई खुशी दिएको जनाए । उनले भने, ‘अहिले नेपाली क्रिकेटलाई अन्यौलताको बीचमा व्यवस्थित गराएर अगाडि बढ्नुपर्छ ।’ उनले क्यानका पदाधिकारीलाई झगडा नगर्नसमेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै १६ वर्षमुनि उमेर समूहको राष्ट्रिय टिमका म्यानेजर रञ्जीत तामाङले नेपालले राम्रो खेलेको जनाउँदै सबैलाई खुशी दिन पाएको बताए । उनले नेपालका केही क्षेत्रमा बाढीले क्षति गराएर दुःख दिइरहेका बेला क्रिकेटको सफलताले केही मात्रामा भए पनि खुशी दिलाएको जनाए ।


  •  
  •  
  •