केयूकेएलमा महाप्रबन्धक छनोटमा दुई मन्त्रीबीच विवाद

392
  •  
  •  
  •  

काठमाडौं २१ पुस ।
उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र सहरी विकासमन्त्री नारायण खड्काबीच काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को महाप्रबन्धक छनोट विषयमा विवाद चुलिएको छ। सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतको केयूकेएलको महाप्रबन्धक छनोटमा हस्तक्षेप गरेपछि विवाद बढेको हो। उनले केयूकेएलका निमित्त महाप्रबन्धक चन्द्रलाल नकर्मीलाई र मन्त्री खड्का आफ्ना निकटका व्यक्तिलाई महाप्रबन्धक नियुक्त गर्ने अडानमा छन्।

नकर्मी एमाओवादीनिकट मानिन्छन्। उनले तीन पटकभन्दा बढी नागरिकतामा उमेर सच्याएका छन्। उमेर सच्याएर विवादमा आएपछि पनि बाबुराम भट्टराई नेतृत्वको सरकारले जबर्जस्ती निमित्त महाप्रबन्धकमा नियुक्त गरेको थियो। यसरी उमेर सच्याएको व्यक्तिलाई निमित्त महाप्रबन्धक पदमा नियुक्त गर्न केयूकेएलकी तत्कालीन अध्यक्ष तिमिला यमीले दबाब दिएपछि तत्कालीन सञ्चालक समिति सदस्य महेश काफ्ले र बाबुराजा महर्जनले राजीनामा दिएका थिए।

जन्ममिति सच्याएका नकर्मीको पछिल्लो मितिलाई आधार मान्ने हो भने पनि महाप्रबन्धकका लागि उनी योग्य ठहरिँदैनन्। पछिल्लोपटक सच्याएको जन्ममिति २०१५/८/१० रहेको छ। केयूकेएल महाप्रबन्धक छनोट कार्यविधिअनुसार गत मंसिरमा नकर्मीको उमेर ५६ वर्ष नाघिसकेको छ। कार्यविधिअनुसार ५६ वर्ष नाघिसकेकोलाई महाप्रबन्धकमा अयोग्य मानिने प्रावधान छ।

महाप्रबन्धकका अन्य दुई प्रतिस्पर्धी ललितपुर उपमहानगरपालिका वरिष्ठ इन्जिनियर रुद्र गौतम र पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक महेश भट्टराई कांग्रेसनिकट मानिन्छन्। गत मंसिरमा महाप्रबन्धक छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। केयूकेएलका एक प्रतिनिधिका अनुसार दुई मन्त्रीको विवादका कारण नौ पटकभन्दा बढी छनोट समितिको बैठक बस्दा पनि कुनै निर्णय हुन सकेको छैन।

सहरी विकासमन्त्री खडाले केयूकेएल महाप्रबन्धक नियुक्तिमा विवाद भएको स्वीकार गरे। ‘अहिले विवाद नभएको कहाँ छ र?’ उनले भने, ‘तर, चाँडै मिल्छ।’ सञ्चालक सदस्य इन्द्रमान सुवालले केही विषयमा विवाद भए पनि चाँडै मिल्ने बताए। केयूकेएलमा महानगर, ललितपुर, भक्तपुर, कीर्तिपुर र मध्यपुर नगरपालिकाको ५० र सरकारको ३० प्रतिशत सेयर रहेको छ। त्यस्तै, नेपाल उद्योग वाण्ािज्य महासंघको ६ र ५ प्रतिशत कर्मचारीको सेयर छ। चेम्बरका प्रतिनिधि सुरेश बस्नेत हाल सञ्चालक समितिका अध्यक्ष हुन्। केयूकेएल बोर्डमा महानगरपालिकाबाट कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठ, इन्द्रमान सुवाल, ललितपुर उपमहानगरपालिकाबाट प्रवीण्ा श्रेष्ठ, एसियाली विकास बैंकबाट कमल पाण्डे सञ्चालक सदस्य रहेका छन्। सहरी विकास मन्त्रालय प्रतिनिधि पनि सदस्य रहने प्रावधान छ।
कान्तिपुरबाट


  •  
  •  
  •