दुई मन्त्रीको हानथापले यातायात हाकिमविहीन

68
  •  
  •  
  •  

काठमाडौं १० पुस ।
दुई मन्त्रीको हानथापले डेढ महिनादेखि यातायात व्यवस्था विभागमा महानिर्देशकको नियुक्ति हुन सकेको छैन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबीचको हानथापले जनतासँग प्रत्यक्ष सरोकार रा ने विभाग हाकिमविहीन भएको हो।

सामान्य प्रशासनमन्त्री पण्डितले विभागका तत्कालीन महानिर्देशक काशीराज दाहालको सरुवा विभागीय मन्त्रीको हैसियतमा आफूसँग राय नलिई गरेपछि मन्त्री निधि असन्तुष्ट बनेका थिए। मन्त्री निधिले महानिर्देशक बनाउने व्यक्तिको नाम ‘आजभोलि’ दिन्छु भनेर टार्दै आएका छन्।

यातायात क्षेत्रमा सुधार प्रयास भइरहेका बेला विभागीय मन्त्रालयबाट सक्दो सहयोग नपाएको र पारिवारिक कारण देखाएर दाहालले ‘सरुवा गरिदिनुपर्‍यो’ भन्दै मन्त्री पण्डितलाई गुहारेपछि कात्तिक २६ गते उनको सरुवा गरिएको थियो। सरुवाका लागि मन्त्री निधिसँग राय लिन सम्पर्क हुन नसके स्पष्टोक्ति मन्त्री पण्डितले दिएका थिए।

‘यातायातमा देखिएको सिन्डिकेट तोड्न विभागीय मन्त्रालयले बलियो भूमिका खेल्नुप:यो। नीतिगत निर्णयमा माथिल्लो निकाय (प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय) मा यातायात मन्त्रालयले समन्वय गर्नुपर्ने भनेको थिएँ, जुन कुरा उहाँ (निधि) लाई चित्त बुझेको थिएन’, दाहालले भने।

गत वैशाख २३ गते विभाग प्रमुखमा जिम्मेवारी समालेपछि दाहालले चालक अनुमतिपत्र वितरण गर्ने कार्यालयमा सीसीटीभी जडान गरेका थिए। यस्तै कार्यालयको गोप्य कोठा भत्काएर एउटै बनाएका थिए भने उल्टो सिट राख्ने माइक्रोलाई १५ दिनसम्म चल्न रोक लगाएका थिए। दाहालले काठमाडौंका ठूला सडकमा ठूला सवारीसाधनलाई मात्रै रुट परमिट दिनुपर्ने प्रस्ताव मन्त्रालयमा लगेका थिए।

स्रोतका अनुसार दाहालको सरुवा हुनु र दुर्घटना बढ्नु एकैपटक भएपछि निधिले पुन: दाहाललाई ‘तपाईं फेरि गइदिनुपर्‍यो’ भनेका थिए। तर दाहालले आफ्नो अपमान गरेको भन्दै जान मानेका थिएनन्।

विभागमा हाकिम नभएपछि खर्च निकासा र कार्यालयको नीतिगत निर्णय गर्न कठिनाइ भएको निर्देशक मुक्ति केसीले बताए। ‘यातायातमा कसलाई पठाउने भन्ने कुरा विभागीय मन्त्रीको हातमा हुन्छ, जसले मन्त्रीको निर्देशन सजिलै लिन्छ, ऊ टिक्छ’, विभागका एक अधिकृतले भने।

सडक दुर्घटना बढिरहेका बेला छानबिन समिति बनाउने, अञ्चल यातायात कार्यालयका प्रमुखलाई यातायात क्षेत्रमा कडाइ गर्न निर्देशन दिने, अनुगमन बलियो बनाउनेलगायत कुरामा महानिर्देशकको भूमिका रहने जानकारी केसीले दिए।

कमाउ अड्डाका रूपमा चिनिने विभागमा कसलाई पठाउने भन्ने निर्णय विभागीय मन्त्रीको हातमा रहने मन्त्रालयका अधिकारी बताउँछन्। ‘हामीले मन्त्रीको कुरा काट्न मिल्दैन, उहाँ कसलाई पठाउन खोज्दै हुनुहुन्छ, उहाँको स्वार्थ के हो बुझ्न सकिएन’, ती अधिकृतले भने।

स्रोतका अनुसार दाहाल सरुवा भएका बेला सामान्य प्रशासन मन्त्रालयले सूर्य श्रेष्ठको काजसरुवा गरेको थियो। श्रेष्ठको काजसरुवा भएको थाहा पाएपछि मन्त्री निधिले उनलाई विभागमा जान रोक लगाएका थिए।

निधिले नाम दिन्छु भनेपछि अड्कियो
लालबाबु पण्डित

विभागका तत्कालीन महानिर्देशक दाहालको सरुवा भएपछि सूर्य श्रेष्ठलाई काजसरुवा गरें। श्रेष्ठ जान तयार पनि भएका थिए।

पछि यातायातमन्त्री विमलेन्द्र निधीले म आफैं नाम दिन्छु, सरुवा गर्न हतार नगर्नोस् भन्नुभयो। सरुवा गर्दा विभागीय मन्त्रीको राय पनि लिनैपर्‍यो। उहाँ आजभोलि नाम दिन्छु भन्नुहुन्छ। यतिका दिन बितिसके नाम दिनुहुन्न।

यातायातजस्तो संवेदनशील क्षेत्रमा सकेसम्म चाँडो नेतृत्व पठाउनुपर्ने त हो। त्यो म पनि राम्रोसँग बुझ्छु। तर मन्त्री निधि अड्काएपछि मेरो केही लागेन। किन नाम दिन ढिलाइ भएको हो, त्यो उहाँलाई थाहा होला।

विभागमा पठाउन सहसचिव खोज्दैछु
विमलेन्द्र निधि

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मेरो स्वीकृतिबिना मन्त्रालयका सहसचिवको सरुवा गर्नुभयो। अहिले सहसचिव नै पाइएको छैन।

म खोज्दैछु। यातायात व्यवस्था विभागको प्रमुखमा प्रथम श्रेणीको सहसचिव पठाउनुपर्छ।

सूर्य श्रेष्ठ जान चाहेको जानकारी मलाई छैन। कसलाई पठाउने भन्ने सोच्दैछु। अबको क्याबिनेटमा कसलाई पठाउने निर्णय हुन्छ होला। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •