दुई माओवादीबीच पार्टी एकीकरणको प्रक्रिया सुरु

219
  •  
  •  
  •  

काठमाडौं २ चैत ।
पार्टी विभाजनको दुई वर्ष आठ महिनापछि दुई माओवादी पार्टी एकताका लागि कस्सिएका छन् । एमाओवादी र उसैबाट फुटेको नेकपा-माओवादीले एकताका लागि वार्ता गर्न आइतबार उच्चस्तरीय समिति बनाएका हुन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको दुई दलको बैठकले ‘मुलुकको विद्यमान अवस्थालाई ध्यानमा राखी सबै माओवादी एवं सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुका बीचमा पार्टी एकताको आवश्यकता अनुभूत भएको’ उल्लेख गर्दै पहल अगाडि बढाएका हुन् । छलफलपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यले संयुक्त रुपमा चार बुँदे विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सिद्धान्तनिष्ठ पार्टी एकताको लागि गरिएको यस अभियानमा सबै माओवादी एवम् सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई योगदान पुर्‍याउन अपिल गर्ने ।’

पार्टी एकतका लागि गठित वार्ता समितिमा एमाओवादीबाट अध्यक्ष दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी छन् । त्यसैगरी माओवादीबाट अध्यक्ष वैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ छन् । दुई पार्टीले छिट्टै संयुक्त रुपमा आन्दोलन पनि सञ्चालन गर्ने भएका छन् ।

‘मुलुकमा बढदै गएको प्रतिगमन, जनघात, राष्ट्रघात र जनजीविकाका विषयहरु,’ जारी विज्ञप्तीमा संयुक्त आन्दोलन गर्नुको यस्तो कारण दिइएको छ, ‘तत्काल सत्य निरुपण मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी विषयलगायत शान्ति प्रक्रियासंग जोडिएका विषयहरुमा राज्यपक्षबाट भइरहेको प्रतिगमनकारी कदमहरुको विरुद्धमा संयुक्त आन्दोलनका कार्यक्रमहरु दिने निश्चित गरिएको छ ।’

पछिल्लो समय द्वन्द्वकालीन मुद्धा उठाएर आफूहरुलाई सिध्याउने खेल भएको निश्कर्षसहित दुई पार्टी नजिकिएका हुन् । न्यायिक निरुपण्ाका लागि न्यायलयमा विचाराधीन मुद्धा सत्य निरुपण्ा तथा मेलमिलाप आयोगमा नसर्ने भन्ने सर्वाेच्च अदालतको फैसलाले दुवै पार्टीका नेतालाई चिन्तित तुल्लाएको छ । सर्वाेच्चको फैसला अनुसार गम्भीर प्रकृतिका मानवअधिकार हननका घटनामा पनि क्षमादान पाइने छैन । एमाओवादी उपाध्यक्ष श्रेष्ठले सत्यनिरुपण र मेलमिलापको मर्मविपरीत आयोगलाई काम गराउन खोजिएको बताए ।

‘अदालतका मुद्धा सत्यनिरुपणमा नसर्ने भनिएको छ । अदालतमा त प्रचण्ड -दाहाल), बाबुरामजीहरु विरुद्धका मुद्धा विचाराधीन अवस्थामा छन् । माओवादीलाई सिध्याउने भन्ने चर्चा पनि चलाइएका छन्,’ एकताको आवश्यकताबारे श्रेष्ठले भने, ‘देशको राजनीतिक परिस्थित पनि गम्भीर छ । प्रतिगमनको खतरा बढेको छ । आन्दोलनका उपलब्धीहरु संस्थागत गर्न दिइएको छैन ।’ यसपटक पार्टी एकताका लागि औपचारिक रुपमै गम्भीर पहल थालिएको उनले बताए । माओवादी सचिव गुरुङले पनि मुल कार्यदीशामा कुरा मिले एकता प्रक्रिया अघि बढ्ने बताए ।

‘विगतमा पार्टी विभाजन हुनु गल्ती भयो भन्ने दुवैतर्फ महसुस भएको छ,’ एकताको अर्को आधारबारे उनले भने । विभाजनपछि माओवादी आन्दोलन कमजोर भएको उनले बताए । अघिल्लो संविधानसभामा प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जितेको एमाओवादी सबैभन्दा ठूलो दल थियो । कांग्रेस-एमालेको सिट संख्या जोडा पनि एमाओवादीको भन्दा कमै हुन्थ्यो । २०६९ असारमा वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसपछि २०७० मंसिरमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमाओवादी प्रत्यक्षतर्फ जम्मा २६ सहित ८० सिटमा खुम्चियो । फुटेर गएको माओवादीले त संविधानसभा चुनावै बहिश्कार गर्‍यो ।

संविधानसभा निर्वाचनलगत्तै एमाओवादीभित्र पार्टी एकताका लागि आवाज उठ्न थालेको थियो । यता विभाजित माओवादीबाट पनि तत्कालीन सचिव नेत्रविक्रम चन्दले विद्रोह गरी गत कात्तिकमा बेग्लै पार्टी गठन गरे । आवश्यक परे फेरि ‘जनयुद्ध’ गर्ने क्रान्तिकारी नारा दिएको चन्द नेतृत्वको माओवादीतिर नेता, कार्यकर्ताको ठूलो पंक्ति लाग्यो । त्यसयता वैद्य माओवादीभित्र पनि एकताको दबाव बढै गयो । पार्टीभित्र चन्द पक्षले खटपट सुरु गरेसंगै वैद्य नेतृत्वको माओवादीले यस वर्षको सुरुवातमै पार्टी एकताका लागि पहलकदमी लिएको थियो ।

माओवादीको गत वैशाख २३ मा सम्पन्न पोलिटव्यूरो बैठकले पार्टी एकताका लागि  ६ बुँदे प्रस्ताव अघि सारेको थियो । त्यसको करिब ६ महिनापछि गत असोज ६ मा एमाओवादी अध्यक्ष दाहालले माओवादी अध्यक्ष वैद्यलाई पत्र लेख्दै पार्टी एकताका लागि गम्भीर रहेको बताएका थिए । दाहालले पार्टी माओवादीले अघि सारेका ५ बुँदामा सैद्धान्तिक सहमति जनाउँदै २ नम्बर बुँदाको हकमा जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिका लागि अगाडि बढ्ने एमाओवादी लाइन सही रहेको उल्लेख गरेका थिए । माओवादीले २ नम्बर बुँदामा ‘नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदीशालाई स्वीकार गर्नुपर्ने’ उल्लेख गरेको छ ।

माओवादीले शुक्रबारमात्रै पार्टी एकताका लागि गम्भीरतापूर्वक छलफल तथा संवाद हुन नसकेको ठहर गर्दै अध्यक्ष वैद्य नेतृत्वको टोलीलाई निरन्तरता दिई वार्ता अगाडि बढाउने निर्णय गरेको थियो । माओवादी स्थायी स्थायी समिति बैठकपछि महासचिव थापाले एक विज्ञप्ती जारी गरी वैद्य नेतृत्वको वार्ता टोलीलाई सक्रिय बनाउने निर्णय गरेको जनाएका छन् । समितिको बैठकले ‘सच्चा क्रान्तिकारी माओवादी कम्युनिस्टहरुको एकता ऐतिहासिक आवश्यकता भएको’ भन्दै औपचारिक वार्ताको पहल गर्ने निर्णय गरेको हो ।
कान्तिपुरबाट


  •  
  •  
  •