बिमलकी बहिनीको ‘हत्या’ आरोपमा दुई पक्राउ

258
  •  
  •  
  •  

काठमाडौँ, १३ जेठ(ओएनएस) : युवा फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको हत्याको आरोपमा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ ।

गयराति नवलपरासीको बर्दघाट-८ पञ्चनगरस्थित आफ्नै घरमा एक्लै रहेकी मनिषा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।

आमा बुटवल गएको र दाजु बिमल बेल्जियम रहेको अवस्थामा उनी मृत अवस्थामा भेटिएकी हुन् । बिहान आमाले छोरीलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषा मृत भेटिएको खाटमा रगतका दाग भेटिएको जानकारी दिए । उनले मनिषाको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिएको समेत बताए ।

प्रहरीले छिमेकीले दिएको विवरणका आधारमा आशिष चौधरीसहित अर्का एकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजनामाथि प्रहरीले अनुसन्धान थालेको छ र बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउन सक्ने एसपी चौधरीले बताए ।

यस्तै, मनिषाको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइने भएको छ । यहाँ परीक्षण पश्चात् उनको हत्या अगाडि बलात्कार भए नभएको बारे पनि प्रष्ट हुने बताइएको छ ।

उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।

सम्बन्धित समाचार :

फुटबलर बिमल घर्तीकी बहिनी मनिषाको हत्या


  •  
  •  
  •