यति रहेछ पर्यटन मन्त्री शेर्पाको सम्पत्ति

144
  •  
  •  
  •  

काठमाडौं १२ असार ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री शेर्पाले आर्थिक वर्ष २०७०/७१ को सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री शेर्पाकी पत्नी कमला शेर्पाको नाममा भोजपुर नगरपालिका-३ बोखिमस्थित ३४.०.० (वर्ग मिटर) क्षेत्रफलमा अंशबापतको ५० हजार मूल्यको घर र जग्गा छ ।

त्यस्तै पत्नी कमलाकै नाममा काठमाडौँ महानगरपालिका-७ मैजुबहालमा वकसबापत प्राप्त १२.२.० र सोही स्थानमा २२.०.० (वर्ग मिटर) क्षेत्रफलमा गरी सात लाख ५० हजारको घर जग्गा छ ।

कमलाकै नाममा इलाम नगरपालिका-२ मा ०.३.०.० दाइजोबापतको ३० हजार र झापा महारानी-४ मा २.१५.०.० (वर्ग मिटर) क्षेत्रफलमा किस्ताबन्दीमा खरिद गरेको १८ हजारको घर र जग्गा रहेको छ ।

मन्त्री शेर्पासँग विवाहमा दाइजोबापत प्राप्त ५० तोल सुनका गरगहना र पाँच केजी चाँदीको पूजाका सामान रहेका छन् ।

उनको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा तलबबाट प्राप्त मौज्दात रकम तीन हजार ५०० रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा जग्गा बिक्रीबापत प्राप्त १० हजार र एभरेष्ट बैंकमा ६५ हजार छ ।

कमलाको नाममा कर्मचारी सञ्चय कोषमा छ लाख ५० हजार र राष्ट्रिय वाणिज्य बैंकमा तलबबाट प्राप्त ३५ हजार रहेको छ ।

श्रीमती कमला शेर्पालगायत आफन्तकोे नाममा एसबिआइ बैंकमा ७०० कित्ता शेयर, खेती र तलबलगायतको आम्दानीमार्फत प्राप्त रु ७० हजार रहेको छ ।

फूर्वा तेञ्जिङ शेर्पाको नाममा बा२९प ६०६६ नम्बरको जग्गा बिक्रीबापत प्राप्त रु दुई लाख ३९ हजार रहेको छ ।

मन्त्री शेर्पासँग अंशबापत प्राप्त रु दुई लाख ५० हजार मूल्यका पाँचवटा भैँसी रु एक लाख मूल्यका दुई हल गोरु रहेको मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •