मर्यादा उल्लङ्घन गरेको भन्दै २४० जनाको उप-प्राध्यापकको परीक्षा रद्द

78
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदका लागि लिइएको विज्ञापनमा पहिचान खुलाएर परीक्षा दिने २४० परिक्षार्थीको परीक्षा र उत्तरपुस्तिका रद्द गरेको छ।

आयोगले एक सूचना जारी गर्दै परीक्षाको नियमविपरीत आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम-रोल नम्बर, फोन नम्बर लेखि परीक्षाको मर्यादा उल्लङ्घन गरिएको जनाएको छ।

आर्थिक वर्ष २०७५-०७६ मा प्रकाशित विभिन्न विज्ञापन नं। तथा विषयहरूको खुल्ला प्रतियोगिताको माध्यमद्वारा उपप्राध्यापक पदको पदपूर्ति गर्ने सन्दर्भमा २०७६ कार्तिक २८ गते देखि २०७६ पुस २ गते सम्म सञ्चालित लिखित परीक्षामा सहभागी विभिन्न अध्ययन संस्थान तथा संकायका परीक्षार्थीमा यस्तो पाइएको त्रिविको सुचनामा उल्लेख छ।

विज्ञापन नं, विषय र रोल नं.का परीक्षार्थीले उत्तरपुस्तिकाको प्रथम पानाको बुंदा नं. १ मा उल्लेख भएको निर्देशनविपरीत परीक्षकलाई आफ्नो पहिचान खुलाउने काम गरेको सूचनामा उल्लेख छ।

यसरी रद्द हुनेमा चिकित्साशास्त्र तर्फका १६ जना रहेका छन्। इन्जिनियरिङ अध्ययन संस्थानतर्फ १०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानतर्फ ६, विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ ७७, मानविकी तथा सामाजिक शास्त्र संकायका ५९, शिक्षाशास्त्र संकायका ३० र व्यवस्थापन संकायका ३८ जनाको परीक्षा तथा उत्तरपुस्तिक रद्द गरिएको छ।

यस्तै, कम्प्युटर एप्लिकेसन, नेपाली, ग्रामीण विकास तथा समाजशास्त्र गरी चार विषयका ४ परीक्षार्थीको परीक्षा तथा उत्तरपुस्तिका रद्द गरिएको पनि सेवा आयोगले जनाएको छ।

हेर्नुहोस् आयोगको सूचना


  •  
  •  
  •