नीति कार्यक्रम तथा बजेट पारित गर्दै सकियो त्रिवि सभाको बैठक

113
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७/०७८ का नीति कार्यक्रम तथा बजेट परित तथा विभिन्न नीतिगत निर्णयहरु गरी सम्पन्न भएको छ ।
बैठकले आर्थिक वर्ष २०७७/०७८ का लागी रु.२१ अर्ब ८६ करोड ४५ लाख २२ हजारको बजेट पारितसँगै त्रिभुवन विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने, अनुसन्धानमुलक प्राज्ञिक गतिविधीलाई बढावा दिने, परीक्षा र नजिता समयमै सम्पन्न गर्ने, आर्थिक मितव्ययिता अपनाई विश्वविद्यालयमा सुशासन गरी प्रतिस्पर्धी बनाउने निर्णय गरिएको छ ।

विद्युतिय माध्याम(अनलाइन) प्रविधिको प्रयोगबाट आयोजना गरिएको सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति के.पी शर्मा ओलीले नेपालको उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशासनिय भूमिका निर्वाह गरेको बताए ।

सिमित श्रोत र साधनको कठिनाईका बाबजुत विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा थप अनुसन्धानमुखी एवम् व्यवहारीक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने बताए ।

नेपालको सन्र्दभमा त्रिभुवन विश्व विद्यालयनै आधुनिक शिक्षाको धरोहर भएको भन्दै हाम्रालाई त्रिभुवन विश्वविद्यालय ख्याती प्राप्त तक्ष शिक्षा, नालान्दा, अक्सफोड र क्याव्रिज विश्वविद्यालय सरह रहेको भन्दै उनले विश्वविद्यालयले देशको मौलिक ज्ञान,चेतना,सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने बताए ।

उच्चशिक्षा मौलिक, विश्वस्तरिय एवम् प्रतिस्पर्धी हुनुपर्ने धारण राख्दै मुलुकको चौतर्फी आवश्यकतालाई सम्वोधन गर्ने शिक्षा वर्तमान युगको आवश्यकता रहेको धारणा अभिव्यक्त गरेका थिए ।

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोेभिड १९ बाट सिर्जित विश्वपरिस्थितिलाई अवसरको रुपमा परिणत गर्दै उच्चशिक्ष थप सिर्जनशिल एव उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गरे । आफ्नो वा संस्थानलाई नै शिक्षण सिकाईको महत्वपूर्ण स्थानको रुपमा विकसित गर्दै शिक्षालाई बहुआयामिक बनाउने अवसरको रुपमा लिन सम्पूर्ण शिक्षक एवम् प्राध्यापकहरुलाई अनुरोध समेत गरेका थिए । कोभिड १९ का कारण नेपालको शैक्षिक व्यवस्थापनमा थप चुनौती थपिएको भन्दै उनले वैकल्पिक शिक्षण विधिको उपयोग गरी शैक्षिक सत्रलाई कायम राख्ने बताए । शिक्षामा बजेट कटौती हुने अवस्था अवका दिनमा नआउने भन्दै प्राप्त शैक्षिक अवसरलाई कार्यान्वयन गर्न सम्पूर्ण शैक्षिक प्रतिष्ठानहरुलाई आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधी नवप्रवर्तन केन्द्रको निर्माण गरिएको, अनुसन्धानमा थप बजेटको व्यवस्था गरिएको, पूर्वाधार निर्माणलाई थप क्रियाशिल गरिएको, विश्वविद्यालयको अन्तराष्ट्रिय स्तरनिर्धारणमा उल्लेख्य उपलब्धी प्राप्त गर्न सफल भएको,कक्षाकोठामा प्रविधीको पहुँच विस्तार गरिएको,लामोसमयदेखि विश्वविद्यालयको समस्या बन्दै आइरहेको निवृत्तिभरणको दीर्घकालिन समाधान खोजिएको बताए । उनले संवैधानिक निकायमा विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुलाई अवसर दिन र प्राध्यापकहरुको मर्यादाक्रमलाई कार्यान्वयन गर्न समेत कुलपतिसमक्ष अनुरोध गरे ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहालले सभासमक्षण आर्थिक वर्ष २०७७/०७८ को निजि तथा कार्यक्रम र बजेट प्र्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०७७÷०७८का लागी प्रस्ताविक बजेट रु २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारमा नियमित कार्यक्रम तर्फ रु.११ अर्व ९५ करोड ३९ लाख ६६ हजार रहेको छ भने आन्तरिक तर्फ सञ्चालन तथा पुँजीगत खर्च ९ अर्व ५१ करोड ५ लाख ५६ हजार र विकास कार्यक्रममा रु.४० करोड रकम प्रस्ताव गरिएको छ । साथै आगामी वर्ष नियमित कार्यक्रममा हुने कुल खर्च ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार मध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट रु.१ अर्ब ५० करोड व्यर्होने र बाँकी १० अर्ब ४५ करोड ३९ लाख ६६ हजार विश्वविद्यालय अनुदान आयोग मार्फत नेपाल सरकारसँग अनुदान मार्ग गर्ने समेत प्र्रस्ताव गरिएको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय सभाले त्रि.वि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद १७ को १०८ को (ख), (ग) र नियम १३३ बमोजिम पुनरावदेन आयोगको सदस्य पदमा त्रिवि कार्यकारी परिषदको मिति २०७६/१०/१३ को निर्णयानुसार मनोनयन हुनु भएका सदस्यहरु प्राध्यापक तिर्थराज पराजुली र प्राध्यापक केशव सुवेदीको मनोनयन अनुमोदन गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट निवृत्त शिक्षक कर्मचारी त्रिभुवन विश्वविद्यालय वा नेपाल सरकारको कुनै पदमा नियुक्त भएमा निवृत्तिभरण प्रदान गर्ने सम्बन्धमा त्रि.वि कार्यकारी परिष्दको २०७६/३/२० को बैठकको निर्णय नं.२५१६ बाट सिफारिस भए बमोजिम त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को नियम ५४ उपनियम (५क) र (५ख)मा समेत संशोध गरी अन्य स्थानमा नियुक्तभएका शिक्षक कर्मचारीको निवृत्तिभरणको भार विश्वविद्यालयले नबोक्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको सभामा सभासदहरु त्रिभुवन विश्वविद्यालय प्राध्याक संघका अध्यक्ष डा. बसन्त ढकाल, पब्लिक क्याम्पसहरु मध्येवाट क्याम्पस प्रमुख भोलानाथ ओझा, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा बुद्धराज थापा,रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पसप्रमुख जिवनधर ज्ञवाली, पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज सञ्जेल, रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंग शाही, जनसंख्या अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा गोविन्द सुवेदी, त्रिवि कर्मचारी संघका केन्द्र्रीय अध्यक्ष भोजराज राउत,प्राध्यापक लक्ष्मी प्रसा मैनाली, दक्षिण एसियाली अनुसन्धान केन्द्र(सिनास)का कार्यकारी निर्देशक डा.मिग्रेन्द्र बहादुर कार्की लगायतले मन्तव्य राखेका थिए ।

सभामा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुषालले कोेभिड १९ को संक्रमणको जटिल परिस्थितिको कारण विद्युतिय माध्यामको प्रयोग गरी विश्वविद्यालयको सभा सञ्चालन गर्नुपरेको बताउँदै कठिनाईपूर्ण पस्थितिको बावजुतपनि सभामा उपस्थिति हुने सम्पूर्ण त्रिभुवन विश्वविद्यालय सभाका सदस्यहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए ।


  •  
  •  
  •