काठमाडौं, २९ साउन (ओएनएस) : नेपाली टेवल टेनिस टोली प्रशिक्षण क्याम्प र च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार पाकिस्तानको इस्लामाबादतर्फ प्रस्थान गर्ने भएको छ ।
खेलाडीहरुले भदौ ४ देखि १० गते सम्म क्षेत्रीय प्रशिक्षण क्याम्पमा विताउने छन् भने भदौ ११ देखि १३ गते सम्म दक्षिण एशियन क्याडेट तथा जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।
सहभागी हुन जाने खेलाडीहरुमा पुरुष जुनियर्स तर्फ कृष्णकुमार थापामगर, मणिकुमार लामा र रजोज मान ठाकु छन् । त्यस्तै महिला जुनियर तर्फ एरिका महर्जन र नोर्देन तामाङ्ग छन् । क्याडेट तर्फ ब्वाईजमा स्याण्टु श्रेष्ठ र रितिज जोशी तथा महिलामा सुमृति श्रेष्ठ र सोनु थापामगर रहेका छन् ।
जुनियर तर्फ खेलाडीहरुले टिम, एकल र युगलमा प्रतिस्पर्धा गर्नेछन् भने क्याडेट तर्फ टिम र एकलमा प्रतिस्पर्धा गर्ने संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले बिहिबार एक कार्यक्रमविच राष्ट्रिय झण्डा प्रदान गर्दै विदाई गरे । सदस्य सचिव लामाले खेलाडीहरुलाई शुभकामना दिंदै थुपै्र खेलाडीहरुविच राष्ट्रको लागि खेल्न पाउनु खेलाडीहरुको सौभाग्य रहेको भन्दै त्यस अवसरको पूर्ण सदुपयोग गर्दै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । गतबर्ष दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपाली खेलाडीहरुले ७ कास्य पदक प्राप्त गर्न सफल भएको थियो ।