काठमाडौं, असार २० (ओएनएस) । संसद् विकास कोषको रकम बढाएर पाँच करोड पुर्याउनुपर्ने सभासद्हरूको मागप्रति सरकार सकारात्मक देखिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभासद्हरूले सो कोषको रकम १० लाखबाट बढाएर पाँच करोड पुर्याउनुपर्ने माग राखेकोमा त्यसप्रति सरकार सकारात्मक हुँदै आर्थिक क्षमताले भ्याएसम्म वृद्धि गरिने काँग्रेस केन्द्रीय सदस्य एवं सिँचाइ मन्त्री नारायणप्रसाद साउदले बताए ।
बैठकमा सभासद्हरूले २ सय ४० निर्वाचन क्षेत्रमा सन्तुलित तवरले बजेट पु¥याउन एवं स्थानीय निकायले सिफारिश गरेका योजना र कार्यक्रमको प्राथमिकीकरण गरी विकास निर्माणलाई प्रभावकारी बनाउन पनि संसद् विकास कोषको रकम बढाउनुपर्ने माग गरेकोे मन्त्री साउदले जानकारी दिए ।
विगत चार दिनदेखि बैठकमा केन्द्रीय सदस्य एवं सभासद्हरूले सरकारका गतिविधि र नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिनुका साथै बजेटमा आफ्ना क्षेत्रका समस्या सम्बोधन गर्न माग गरेका थिए ।
बैठकमा सभासद्ले पहुँचका आधारमा नभई सन्तुलित रूपमा सरकारका कार्यक्रम र बजेटको बाँडफाँड हुनुपर्ने माग गर्दै हरेक क्षेत्रका जनताले विकासको प्रत्याभूति गर्न पाउने गरी बजेट ल्याउन सरकारसँग माग गरेको मन्त्री साउदले बताए । कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको उक्त बैठकमा केन्द्रीय सदस्य एवं सभासद्हरूले बोल्न बाँकी रहेकाले बैठक शुक्रबार पनि बस्ने प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।